काठमाडौं । नेपालको शैक्षिक क्षेत्रलाई डिजिटल युग अनुकूल रूपान्तरण गर्ने उद्देश्यका साथ कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतासँगै हिसान अब क्यान महासंघको ‘सस्टेनेबिलिटी पार्टन’ को रूपमा जोडिएको छ ।
यी दुई अग्रणी संस्थाहरूले संयुक्त रूपमा नेपालका सबै सातवटै प्रदेशमा रणनीतिक रूपमा शिक्षकका लागि एआई राष्ट्रव्यापी कार्यशाला शृङ्खला सञ्चालन गर्नेछन् ।
द्विपक्षीय साझेदारीले शैक्षिक सुशासन र स्थानीय प्रविधिको विकासबीचको खाडललाई पुर्ने लक्ष्य राखेको छ । विद्यार्थीहरूलाई प्रविधिको सामान्य प्रयोगकर्ता मात्र बनाउनुको सट्टा, उनीहरूलाई आविष्कारक र सिर्जनाकर्ता बनाउनका लागि सबैभन्दा पहिले शिक्षकहरूलाई नै प्रविधिमैत्री र दक्ष बनाउनु आवश्यक रहेको ठहर यस अभियानले गरेको छ ।
समझदारी पत्रमा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी र हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्माले हस्ताक्षर गरेका छन् ।
उक्त हस्ताक्षर समारोहमा क्यान महासंघका महासचिव चन्द्र बिलास भुर्तेल, कोषाध्यक्ष विक्रम सिंह, हिसानका महासचिव रामहरि सिलवाल, बागमती प्रदेशका अध्यक्ष राजकुमार आचार्यको विशेष उपस्थिति रहेको थियो ।








प्रतिक्रिया