काठमाडौं । सहआयोजक मेक्सिको दक्षिण कोरियामाथि १–० को जित हासिल गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
मेक्सिकोको ग्वाडलाहारा स्टेडियममा शुक्रबार बिहान भएको समूह चरणको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै एक खेलअगावै अन्तिम चरणमा स्थान सुरक्षित गरेको हो ।
मेक्सिकोको जितका लागि खेलको ५०औँ मिनेटमा लुइस रोमोले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । खेलमा बल पोजिसन र पास एक्युरेसीमा दक्षिण कोरियाले केही सुधारात्मक प्रदर्शन गरे पनि गोल गर्न भने सकेन । दुवै टोलीले ८–८ सट प्रहार गरे पनि सट अन टार्गेटमा मेक्सिको ४ र दक्षिण कोरिया २ मा सीमित रह्यो ।
समूह ‘ए’ मा लगातार दोस्रो जितसँगै ६ अंक जोडेको मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । समूह ‘ए’ मा दक्षिण कोरिया, चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीच अन्तिम खेलहरूपछि नकआउट पुग्ने बाँकी टोलीको टुंगो लाग्नेछ ।
मेक्सिको भने सन् २०१८ मा अन्तिम–१६ सम्म पुगेको इतिहाससहित सन् २०२२ मा समूह चरणबाटै बाहिरिएको अनुभव बोकेर यस पटक बलियो सुरुआत गरेको छ।








प्रतिक्रिया