Logo

खेलकुद

समूह ‘एच’: ‘डेब्यु’को तयारीमा केप भेर्डे, स्पेन र उरुग्वे



काठमाडौं । युरोपियन च्याम्पियन स्पेन र दक्षिण अमेरिकी महारथी उरुग्वेको उपस्थितीले आसन्न विश्वकपको समूह ‘एच’लाई रोमाञ्चक बनाएको छ, जहाँ यी दुवै फुटबल शक्तिले चार वर्षअघि लियोनेल मेसीको अर्जेन्टिनालाई स्तव्ध पारेको साउदी अरेबियाको चुनौती पार लगाउनुपर्नेछ । अनि अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा ठूलो राजमार्गमा गति समाउने प्रयासमा रहेको सानो नवप्रवेशी केप भेर्डेलाई यात्राका लागि समाहित गर्नुपर्नेछ ।

समूहमा एउटाबाहेक सबै खेल अमेरिकामै हुनेछन् । अमेरिकाबाहिर हुने एकमात्र खेल भनेको बहुप्रतिक्षित उरुग्वे र स्पेनबीचको खेल हो । उक्त खेल जुन २६ मा मेक्सिकोको ग्वाडालाजारामा हुनेछ ।

विगतमा यी दुई टिमबीच विश्वकपमा दुई पटक भेट भएको थियो । पहिलो पटक सन् १९५० र दोस्रो पटक सन् १९९० मा भेट हुँदा दुईबीच बराबरी नतिजा निस्किएको थियो । १९५० मा फाइनल राउन्डमा दुई टिमबीचको नतिजा २–२ को बराबरी थियो ।

फाइनल राउन्डमा चार टिमबीचको राउन्ड रोबिन प्रतिस्पर्धामा बाजी मार्दै उरुग्वे उक्त संस्करणको च्याम्पियन भएको थियो । स्पेनले भने चौथो स्थानमा चित्त बुझाएको थियो । सन् १९९० मा भने दुई टिम एउटै समूह ‘इ’मा पर्दा गोलरहित बराबरी नतिजा निस्किएको थियो ।

स्पेनका बाँकी दुई खेल एट्लान्टामा हुनेछन् भने उरुग्वे संलग्न रहने अर्का दुई खेल मायमीमा हुने तय छ । केप भेर्डे र साउदी अरेबियाबीच हुने समूहको अर्को खेल चाँही ह्युस्टनमा हुनेछ ।

चार वर्षअघि कतारमा अफ्रिकी टोली मोरक्कोसँग पराजित हुँदै अन्तिम १६ बाट घर फर्किनु स्पेनका लागि निराशाजनक नतिजा थियो । तर त्यसबाट तत्काल पुनरागमन जनाउने क्रममा टोलीले सन् २०२४ मा युरोपियन च्याम्पियनसिप जित्यो । टोली युरोपियन नेशन्स लिग २०२३ को पनि च्याम्पियन हो । साथै नेशन्स लिगको २०२५ को संस्करणमा पोर्चुगल च्याम्पियन हुँदा स्पेन उपविजेता भएको थियो ।

यसैगरी, जुन ११ बाट सुरु हुने विश्वकपका लागि छनोट भएका ४८ देशमध्ये ५ लाख जनसंख्या भएको केप भेर्डे भुगोलका आधारमा तेस्रो सानो देश हो । आसन्न विश्वकप खेल्ने तयारीमा रहेकामध्ये केप भेर्डेभन्दा साना देश आइसल्यान्ड र कुराकाओमात्र हुन् ।

यस्तै, साउदी अरेबियाको यो लगातार तेस्रो विश्वकप हो । चार वर्षअघि कतारमा समूह चरणको खेलमा लियोनेल मेसीको अर्जेन्टिनालाई २–१ को नतिजामा स्तव्ध पारेपछि साउदी अरेबियाले विश्वव्यापी चर्चा बटुलेको थियो । विश्व फुटबलमा ठूलो महत्वाकांक्षा बोकेर अघि बढेको साउदीले फुटबलकै लागि वर्षेनी अर्बौ डलर खर्चिरहेको छ । 

यसैगरी, दुई पटकको च्याम्पियन उरुग्वे दक्षिण अमेरिकी छनोट प्रतियोगितामा चौथो स्थान हासिल गर्दै उत्तर अमेरिकी विश्वकपलाई छानिएको हो । उरुग्वेभन्दा माथि साविक विजेता अर्जेन्टिना, इक्वेडर र कोलम्बिया छन् भने पाँच पटकको च्याम्पियन ब्राजिल उरुग्वेभन्दा पछाथि थियो । अन्तर्राष्ट्रिय फुटबलमा सधै बलियो टोलीका साथ उपस्थित हुने गरेको उरुग्वे चार वर्षअघि कतारमा समूह चरणबाटै बाहिरिएको थियो । 

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  १० : ०७ बजे