Logo

मुख्य समाचार

‘बियन्ड आयलः गल्फ राष्ट्रहरूको आर्थिक चमत्कार’ पुस्तक विमोचन



काठमाडौं । लेखक प्रा. मोहम्मद रमजान अली मियाँद्वारा लिखित ‘बियन्ड आयलः गल्फ राष्ट्रहरूको आर्थिक चमत्कार’ पुस्तक आइतबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच विमोचन गरिएको छ ।

कार्यक्रममा बोल्दै लेखक मियाँले खाडी राष्ट्रहरूमा दुई दशकभन्दा बढी समय बिताउने क्रममा प्राप्त अनुभव, अध्ययन र अनुसन्धानले आफूलाई पुस्तक लेख्न प्रेरित गरेको बताए ।

उनले आफू २१ वर्षअघि बहराइन पुगेको र सन् २००७ देखि निरन्तर कतारमा बस्दै आएको जानकारी दिए । कतारमा रहँदा उनले कुवेत, बहराइन, साउदी अरेबिया तथा अन्य खाडी मुलुकहरूको पटक–पटक भ्रमण गरी त्यहाँको सामाजिक, आर्थिक तथा विकासका विविध पक्षहरूको अध्ययन गर्ने अवसर पाएको बताए ।

‘मैले पढ्दा अरबलाई मरुभूमिको देशका रूपमा चिन्थें । तर वास्तविकता बुझ्न ती देशहरूको भ्रमण अत्यन्त उपयोगी बन्यो । त्यहाँका विभिन्न पक्षहरूको अध्ययन गरेपछि नेपाल फर्कंदा मलाई नेपालमा सबै कुरा भएर पनि केही नभएको जस्तो र खाडी राष्ट्रहरूमा सीमित प्राकृतिक स्रोत भएर पनि धेरै उपलब्धि हासिल भएको जस्तो महसुस भयो,’ उनले भने ।

यिनै अनुभव र अवलोकनले आफूलाई उक्त पुस्तक लेख्न प्रेरित गरेको उनको भनाइ थियो । मियाँले पुस्तकमा खाडी क्षेत्रका छ राष्ट्रहरूको आर्थिक विकास, नीतिगत सुधार र आधुनिक रूपान्तरणका पक्षहरू समेटिएको बताए ।

उनले विशेषगरी संयुक्त अरब इमिरेट्स (यूएई) को विकास यात्राबारे चर्चा गर्दै दुबई मात्र नभई यूएईका सातवटै अमिरातले उल्लेखनीय विकास हासिल गरेको बताए ।

‘खाडी राष्ट्रहरूको तीव्र विकासको कुरा गर्दा प्रायः हामी दुबईलाई मात्र सम्झन्छौं । तर समग्र संयुक्त अरब इमिरेट्सका सातवटै अमिरात आज विकासको उच्च स्तरमा पुगेका छन् र सबैको आफ्नै विशिष्ट पहिचान छ,’ उनले भने ।

कार्यक्रममा साहित्यकार, लेखक, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । वक्ताहरूले पुस्तकले खाडी राष्ट्रहरूको आर्थिक रूपान्तरण, विकास मोडेल तथा त्यसबाट नेपालले लिन सक्ने पाठबारे महत्वपूर्ण जानकारी प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  १ : २१ बजे