काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले लाङटाङ राष्ट्रिय निकुञ्जको निर्देशनमा रोकिएका पाँच जलविद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।
इप्पान अध्यक्ष गणेश कार्की नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी लाई भेटेर राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको काम तत्काल सुरु हुने वातावरण बनाउन आग्रह गरेको हो ।
इप्पानले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेका आयोजनामा निकुञ्ज प्रशासनले निर्माण रोक लगाउँदा निजी क्षेत्र निरुत्साहित भएको जनाएको छ । अध्यक्ष कार्कीले ऊर्जा मन्त्रालयबाट अनुमति प्राप्त तथा वन मन्त्रालयबाट ईआईए स्वीकृत आयोजनालाई अर्को निकायले रोक्नु नीतिगत विरोधाभास भएको बताएका छन् ।
उनले रुख कटान तथा जग्गा भोगाधिकार अनुमति प्रक्रियामा ढिलाइ हुँदा आयोजनाको निर्माण प्रभावित भएको उल्लेख गर्दै सरकारले अघि सारेको १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न यस्ता अवरोध हटाउनुपर्ने बताए ।
मन्त्री चौधरीले जलविद्युत आयोजनाका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताएकी छन् । उनले विकास आयोजनामा देखिएका समस्या समाधान गर्न नीतिगत सुधारको तयारी भइरहेको जानकारी दिइन् ।
हाल लाङटाङ राष्ट्रिय निकुञ्जले सिन्धुपाल्चोकमा निर्माणाधीन पाँच जलविद्युत आयोजनाको काम रोक्न निर्देशन दिएको छ । ती आयोजनामा ३६.५ मेगावाटको ब्रह्मायणी, २०.५२ मेगावाटको माथिल्लो ब्रह्मायणी, ९.७ मेगावाटको ब्रह्मायणी ‘ए’, ४० मेगावाटको बलेफी खोला र ४६ मेगावाटको माथिल्लो बलेफी जलविद्युत आयोजना रहेका छन् । यी आयोजनाको कुल जडित क्षमता १५३ मेगावाट रहेको छ ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले सरकारले स्वीकृति दिएका आयोजनामा निर्माण रोक्नुको सट्टा सहजीकरण गर्नुपर्ने बताएका छन् । इप्पानका अनुसार अधिकांश जलविद्युत आयोजना निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले यस्तो निर्देशनले करिब ५० हजार मेगावाट बराबरका सम्भावित आयोजना प्रभावित हुन सक्नेछ ।
इप्पानले बुधबार नै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेल लाई भेटेर निकुञ्जभित्रका आयोजनाको काम नरोक्न आग्रह गरेको जनाएको छ ।








प्रतिक्रिया