Logo

कला/साहित्य

छन्द लेखन केवल कविता होइन, सभ्यता र संस्कृतिको संरक्षण पनि हो :कवि न्यौपाने



काठमाडौं । साहित्य केवल भावना अभिव्यक्त गर्ने माध्यम मात्र होइन, त्यसलाई सुन्दर, प्रभावकारी र दीर्घकालीन बनाउने एउटा विधि पनि हो, जसलाई छन्द भनिन्छ ।
छन्दले शब्दलाई लय, मात्रा, नियम र अनुशासनमा बाँधेर साहित्यलाई अझ सशक्त बनाउँछ । यही कारण छन्दलाई साहित्यको मेरुदण्ड र लेखनको आधार मानिन्छ ।
छन्द कवि चन्द्रप्रसाद न्यौपानेले छन्द भनेको केवल कविता लेख्नेशैली मात्र नभई जीवन, सृष्टि र अनुशासनसँग जोडिएको गहिरो नियम भएको बताए । छन्द दिवसको अवसरमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले छन्दलाई ‘नियमको शासन’ र ‘साहित्यको संविधान’ का रूपमा व्याख्या गरे ।
उनका अनुसार छन्द लेखनको एउटा यस्तो विधि हो, जसमा निश्चित नियम, लय, मात्रा र संरचनाभित्र रहेर भाव अभिव्यक्ति गरिन्छ । जसरी एउटा राज्य सञ्चालनका लागि संविधान र कानुन आवश्यक हुन्छ, त्यसरी नै साहित्य सिर्जनामा छन्द आवश्यक हुने उनले बताए ।
‘छन्द भनेको एउटा नियम विधिको शासन जस्तै हो । सिंगो ब्रह्माण्डको सृष्टि पनि छन्दोमय छ । सबै कुरा मिलेको छ, काटछाँट मिलेको छ, त्यही नै छन्द हो,’ उनले भने।
न्यौपानेका अनुसार छन्दको इतिहास हजारौं वर्ष पुरानो छ । उनले विश्व साहित्यको सबैभन्दा प्राचिन स्वरूप नै छन्द भएको उल्लेख गर्दै पूर्वीय साहित्यका चार वेद—ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद—समेत छन्दमै रचना गरिएको बताए । वेदमा करिब ८४–८५ प्रकारका छन्द प्रयोग भएको उल्लेख गर्दै उनले संस्कृत साहित्यको लगभग शतप्रतिशत सिर्जना छन्दमै भएको बताए ।
उनले रामायण, महाभारत, १८ पुराण, उपपुराणदेखि कालिदाससम्मको साहित्यिक परम्परा छन्दमा आधारित रहेको स्मरण गरे । ‘पूर्वमा व्यास र पश्चिममा होमर—दुवैतर्फ छन्दमा लेख्ने परम्परा थियो । त्यसैले छन्द विश्वकै सर्वश्रेष्ठ प्राचिन साहित्य हो,’ उनले भने ।
छन्दमा लेख्नका लागि वर्ण, लघु–गुरु, मात्रा र सूत्रको ज्ञान आवश्यक पर्ने उनले जानकारी दिए । नेपाली र संस्कृत भाषाका स्वर–व्यञ्जनको संरचना बुझेर मात्र छन्द लेख्न सकिने उनको भनाइ छ । ‘अ, इ, उ, ऋ जस्ता लघु वर्ण र बाँकी दीर्घ वर्णलाई मिलाएर सूत्र बनाइन्छ । त्यसैअनुसार कविता बन्छ,’उनले स्पष्ट पारे ।
यसैगरी कवि न्यौपानेले छन्दमा भाव अभिव्यक्ति अत्यन्त सशक्त हुने बताउँदै एउटा सामान्य वस्तुबाट पनि महाकाव्य सिर्जना गर्न सकिने उनले उदाहरण दिए।
उनले भने,‘एउटा सिसाको गिलासको मात्रैपनि महाकाव्य लेख्न सकिन्छ । त्यो कहाँ बन्यो, कसरी बन्यो, पृथ्वीको उत्पत्तिसँग यसको सम्बन्ध के छ—कल्पना गर्दै जाँदा विशाल साहित्य बन्छ ।’
छन्दले कविलाई कल्पनाभन्दा बाहिर गएर इतिहास, वर्तमान र भविष्यलाई एउटै रचनामा बाँध्न सक्ने क्षमता दिने उनको भनाइ छ । न्यौपानेले छन्दलाई ट्राफिक नियमसँग तुलना गर्दै नियमभित्र बसेर लेख्दा साहित्य परिपक्व हुने जानकारी दिए ।
उनले भने,‘भाव अभिव्यक्ति अरू साहित्यमा जति सम्भव छैन, छन्दमा त्यति व्यापक रूपमा गर्न सकिन्छ । रातो बत्तीमा रोकिनुपर्छ, हरियोमा जानुपर्छ । त्यसरी नै छन्दमा पनि नियम तोड्न पाइँदैन । नियममा बस्यो भने दुर्घटना हुँदैन,’उनले भने।
उनको अुनसार राम्रो छन्द कविता लेख्नका लागि व्यापक अध्ययन आवश्यक छ । कवि अध्ययनशील, संवेदनशील र समाजको दुवै पक्ष बुझ्नसक्ने हुनुपर्ने उनको बुझाई छ ।
उनले भने,‘राम्रो छन्द कविता बनाउनको लागि सबैभन्दा पहिला वर्णको ज्ञान हुनुपर्यो। त्यसपछि भाव कसरी व्यक्त गर्ने अभिव्यक्त गर्ने अनुभव हुनुपर्यो। अब तपाई केका बारेमा लेख्ने त्यसको लागि व्यापक अध्ययन चाहियो । समग्रमा त्यो सर्वव्यापक अध्ययन हुनुपर्छ । छन्दमा कविता लेख्ने मान्छे पूर्ण अध्ययनमा राम्रो कविता लेख्न सक्छ भने संसारका जुनसुकै साहित्य पनि उ निडर र निर्भिक भएर लेख्नसक्छ ।’
उनले छन्दलाई आधुनिक, मध्यकालीन वा प्राचीन भनेर विभाजन गर्न नमिल्ने बताए।
उनले भने,‘आधुनिक समय प्राचिन समय मध्य समय भन्ने केहि पनि हँुदैन। छन्द भनेको सदाबहार हो । सृष्टिदेखि अन्त्यसम्म आदिदेखि अनन्त भन्छ । अनन्त भनेको कहिलेसम्म धर्ती रहन्छ, कहिलेसम्म ब्रह्माण्ड रहन्छ तबसम्म त्यो छन्द रहन्छ । छन्द भनेको त त्यो एउटा विधि हो । स्वतस्फूर्त आएको प्राकृतिक नियम हो। छन्दको अन्त्य नै छैन । यो कसैले हटाएर हट्ता पनि हट्ने होइन । प्राकृतिक अनन्तसम्म छन्द रहिरहन्छ ।’
शिक्षा प्रणालीमा छन्दको महत्व घट्दै गएकोमा उनले चिन्ता व्यक्त गरे । विद्यालयका पाठ्यक्रममा छन्दबद्ध कविता अझै रहेपनि त्यसको गहिरो अध्ययन गराउने शिक्षक अभाव भएको उनले बताए ।
‘पहिला नेपाली शिक्षकले सबै ज्ञान दिन सक्थे, अहिले त्यस्तो अवस्था छैन। बोर्डिङ विद्यालयमा पश्चिमी संस्कृतिको प्रभाव बढ्यो। अंग्रेजीलाई नै सबैभन्दा ठूलो कुरा ठानियो,’ उनले भने।
उनका अनुसार अंग्रेजी भाषा केवल व्यवहार र अन्तर्राष्ट्रिय संवादका लागि आवश्यक हो, तर आफ्नै भाषा, संस्कृति र साहित्यलाई बेवास्ता गर्नु गलत हो ।
‘हाम्रा गौतम बुद्ध, सीता, भृकुटीबारे पढ्नुपर्ने हामीले अंग्रेजकै इतिहासमा मात्र किन हराउने ?’ उनले प्रश्न गरे ।
छन्दलाई उनले संस्कृति र पहिचानसँग जोड्दै भने, ‘छन्द पनि संस्कृति हो। साहित्य, कला र संस्कृति एउटै हुन् । आफ्नो भाषामाथि हामी आफैंले आक्रमण गरिरहेका छौं ।’
छन्द दिवसबारे बोल्दै उनले बैशाख ८ गतेलाई नेपाल सरकारले आधिकारिक रूपमा ‘छन्द दिवस’ घोषणा गरेको जानकारी दिए । पोखराका साहित्यकार माधव वियोगीको पहलमा नेपाल पञ्चाङ्ग समितिले उक्त दिनलाई क्यालेन्डरमा समावेश गरेको उनले बताए।
‘छन्द दिवस भनेको छन्दको महत्व सम्झने दिन हो । सृष्टि नै छन्द हो, यसलाई बिगार्नु हुँदैन भन्ने सन्देशका साथ यो दिवस मनाइन्छ,’ उनले भने।
उनले नयाँ पुस्तालाई कम्तीमा एउटा श्लोक, दुई पाउ, चार पाउ जति भएपनि छन्दमा लेख्न आग्रह गरे।
उनले सबैलाई छन्द दिवसमा आफ्नै भाषा, संस्कार र संस्कृतिलाई जोगाउन छन्द लेख्न आग्रह गरे।
‘प्रेम, राजनीति, समाज, कुनैपनि विषयमा लेख्नुस् तर लेख्नुस् । एउटा कविता, एउटा श्लोक भएपनि लेख्नुहोस । आफ्नो देशको संस्कार र संस्कृतिलाई बचाउनुहोस,’ उनले सन्देश दिए ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  १० : ५६ बजे