Logo

मुख्य समाचार

मुस्ताङमा जीप दुर्घटना, चालक घाइते



मुस्ताङ। मुस्ताङको कोरला नाकानजिक सोमबार बिहान जीप दुर्घटना हुँदा चालक घाइते भएका छन्।

काठमाडौं–पोखरा हुँदै नेपाल–चीन सीमास्थित कोरला नाकातर्फ जाँदै गरेको ग १ च २२५५ नम्बरको टोयोटा हायस जीप अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा काठमाडौं तारकेश्वर नगरपालिका–५, टोखा निवासी ३१ वर्षीय चालक नागमिन सुब्बा घाइते भएका छन्।

सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गणपति प्रहरी नायब उपरीक्षक भेषराज गिरीका अनुसार, कोरला नाकाबाट करिब एक किलोमिटर दक्षिणतर्फ रहेको भिरालो सडक खण्डमा सवारी दुर्घटना भएको हो।

जीपमा चालकसहित पाँच जना सवार रहेको जनाइएको छ। घाइते चालक सुब्बालाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि जोमसोम अस्पतालतर्फ ल्याएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  २ : २१ बजे