Logo

मुख्य समाचार

शिवनगरको आँगनमा पोखिए नागरिकका पीडाः ‘प्रहरी प्रशासन निर्दोषको सहारा बनोस्’



रौतहट । रौतहटको शिवनगरस्थित कानु समाज धर्मशालाको प्राङ्गण आइतबार अलि भिन्न देखियो । त्यहाँ केवल एउटा औपचारिक कार्यक्रम भइरहेको थिएन, बरु राज्यको सुरक्षा निकाय र नागरिकबीचको विश्वासको एउटा पुल बनिरहेको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा भएको ‘नागरिक सार्वजनिक सुनुवाइ’ कार्यक्रममा स्थानीयका गुनासो, अपेक्षा र सुरक्षाप्रतिको तिर्खा स्पष्टै झल्किन्थ्यो ।
‘पीडित जब न्यायको आश बोकेर प्रहरीकहाँ पुग्छ, त्यहाँ उसलाई भरपूर सहयोगको अनुभूति हुनुपर्छ,‘गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद कल्वारले भावुक हुँदै भने।
अझै पनि कहीँ न कहीँ पीडितलाई रुवाउनेहरुकै प्रहरीमा हालीमुहाली हुने त होइन भन्ने डर जनतामा छ । प्रहरीले कुनै शक्ति वा दबाबमा नझुकेर निमुखाको आँसु पुछ्ने काम गरोस्।’
उनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने चरित्र हत्याका घटनाले मानिसको सामाजिक जीवन नै तहसनहस पारेको भन्दै त्यस्ता अपराधीलाई समयमै लगाम लगाउन प्रहरी प्रमुखको ध्यानाकर्षण गराए ।
नागरिकका यी गह्रौँ प्रश्न र गुनासोहरुलाई धैर्यपूर्वक सुन्दै रौतहट प्रहरी प्रमुख सिताराम रिजालले एउटा अभिभावकीय भरोसा दिलाए । उनले शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्नु प्रहरीको मात्र होइन, प्रत्येक नागरिकको पवित्र जिम्मेवारी भएको बताए ।
‘तपाईंहरुको सूचना र सहयोग नै हाम्रो शक्ति हो,’ रिजालले भने, ‘समाजमा रहेका कुरीति र विसंगतिलाई जरैदेखि उखेल्न नागरिकको भूमिका महत्त्वपूर्ण छ । ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने यो पुनित कार्यमा हामीलाई साथ दिनुहोस्। कसैले गलत गर्छ भने त्यसलाई रोक्न सुझाव दिनुहोस्, हामी सधैँ सत्यको पक्षमा उभिनेछौँ।’
स्थानीय जनप्रतिनिधि, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि र आम नागरिकको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीका आँखामा एउटै आशा थियो— प्रहरी प्रशासन अब केवल बर्दीको पहरेदार मात्र होइन, अन्यायमा परेकाहरुको सच्चा सारथी बन्नेछ ।
सामुदायिक–प्रहरी साझेदारीको यो अभियानले शिवनगरका बासिन्दामा एउटा नयाँ विश्वास जगाएको छ कि—अब न्याय टाढा छैन।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ३ : ४३ बजे