Logo

मुख्य समाचार

आगलागीमा नष्ट राष्ट्रिय परिचयपत्र पुनः प्राप्ति प्रक्रियाः के गर्ने, कहाँ जाने?



काठमाडौं । गत भदौ २३ गते भएको जेनजी आन्दोलन अगाडि नै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ‘तपाईंको राष्ट्रिय परिचयपत्र तयार भएको छ’ भन्ने सन्देश (मेसेज) प्राप्त भए पनि धेरै सेवाग्राहीले परिचयपत्र बुझ्न जान सकेका थिएनन्।

तर, जेनजी आन्दोलनका क्रममा भएको आगलागीका कारण तीमध्ये ठूलो संख्यायामा परिचयपत्रहरू पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार करिब २ लाख परिचयपत्र जलेर नष्ट भएको अनुमान गरिएको छ।

यस्तो अवस्थामा अब नयाँ राष्ट्रिय परिचयपत्र कसरी बनाउने भन्ने प्रश्न धेरै सेवाग्राहीमा देखिएको छ। सम्बन्धित निकायले यसका लागि स्पष्ट प्रक्रिया पनि तोकेको छ।

सबैभन्दा पहिले सेवाग्राहीले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई आफ्नो परिचयपत्र आगलागीमा जलेर नष्ट भएको सम्बन्धी पुष्टि पत्र (चिठी) लिनुपर्ने हुन्छ। उक्त चिठी लिएपछि सेवाग्राही सिंहदरबारस्थित राष्ट्रिय पञ्जीकरण विभागमा जानुपर्नेछ।

विभागमा पुगेपछि आवश्यक कागजातहरू सक्कली नागरिकता प्रमाणपत्र,विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र र बसाइँसराइ गरेको भए सो सम्बन्धी प्रमाणपत्र र जिल्ला प्रशासन कार्यालयबाट लिएको चिठी बुझाउनुपर्छ।

सम्पूर्ण प्रक्रिया पूरा गरेपछि पुनः बायोमेट्रिक विवरण दिनुपर्नेछ। बायोमेट्रिक प्रक्रिया सम्पन्न भएपछि सेवाग्राहीले राष्ट्रिय परिचयपत्रसम्बन्धी आवेदन दर्ता भएको प्रमाण (रुजु फाराम) प्राप्त गर्न सक्नेछन्।

विभागका अनुसार सबै प्रक्रिया पूरा गरेपछि करिब ३ देखि ४ महिनाभित्र नयाँ राष्ट्रिय परिचयपत्र उपलब्ध गराइनेछ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ३ : ३४ बजे