Logo

राजनीति

रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन के भने सांसदहरुले ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आफ्नो भूमिका केवल बोल्नेमात्र नभई काममार्फत परिणाम दिनुपर्ने बताएका छन् ।
रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद आशिका तामाङले सांसदको जिम्मेवारी भाषणमा सीमित नरहेको बताइन् । उनले जनताले ठूलो विश्वासका साथ जिताएको हुँदा बोल्दैमा मात्रै विकास, सुशासन वा भ्रष्टाचार अन्त्य सम्भव नहुने उल्लेख गरिन् । ‘सांसदको धेरै काम छ, पुरानो बेथिति अन्त्य गरी थिति बसाल्न हामी आएका हौँ,’ उनले भनिन् ।

साथै आफू सिक्ने र अगाडि बढ्ने प्रक्रियामा रहेको पनि उनले स्पष्ट पारिन् । त्यसैगरी अर्का सांसद सागर ढकालले आफूहरू सबै विषयमा जानकार नभएको स्वीकार गर्दै प्रत्येकको आ–आफ्नो क्षेत्रमा विज्ञता रहेको बताए । उनले अभिमुखीकरण कार्यक्रममार्फत संसदीय अभ्यास सिक्दै देशका समस्या पहिचान गर्ने प्रयास भइरहेको जानकारी दिए । ‘देशलाई कसरी अगाडि बढाउने भन्ने विषयमा हामी नयाँ छौँ र सिक्दैछौँ, हामी के कुरामा सचेत छौं भन्दाखेरि हामी सबै कुरामा जान्ने छौं भन्ने होइन । हामी सबैको विज्ञता आ –आफ्नो क्षेत्रमा छ ।’ उनले भने ।

यस्तै सांसद सुलभ खरेलले रास्वपाले जनताबाट अपेक्षाभन्दा बढी समर्थन पाएको भन्दै थप जिम्मेवारी महसुस गरेको बताए । उनले नीति तथा कानुन निर्माणमा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै विगतका दलभन्दा फरक नतिजा दिन प्रतिबद्ध रहेको बताए । ‘कानुन संशोधन आवश्यक छ, र देश सुधारका लागि हामी सक्रिय छौँ, हामीले स्पष्ट बहुमत लिएर आएका छौं । हामीले विशेष गरेर नीति कानुन निर्माणमा अलि बढी काम गर्नुपर्नेछ । धेरै नै जिम्मेवारीबोध लिएको छु मैले। हिजोको भन्दा फरक नतिजा दिनुपर्छ भन्ने कुरामा हामी लागिरहेका छौं,’ उनले भने ।
त्यसैगरी सांसद सुम्निमा उदासले अभिमुखीकरणमा सांसदहरुलाई बोल्ने कुरादेखि गरिने क्रियाकलापमा कसरी सचेत हुने भन्ने कुराहरुमा सचेत गाराइएको जानकारी दिइन् । अहिले सबैको नजरमा रास्वपाका सांसदहरु परेको कारण सबैलाई सचेत भएर काम गर्न आग्रह गरिएको उनको भनाई छ ।

उनले भनिन्,‘अभिमुखीकरणमा हामीलाई धेरै कुरा सिकाइएको छ । अब हामी पब्लिक फिगर भयौं हरेक कुरालाई जिम्मेवारी पूर्वक निर्वाह गर्नुपर्छ भनेर हामीलाई सचेत गराउनुभएको छ । किनभने यो समयमा हामीलाई लेन्स लगाएर सबैले हेरिरहनुभएको छ । त्यसैले बोल्नेदेखि गरिने क्रियाकलापमा सचेत हुनुहोस् भन्नुभएको छ ।’ त्यस्तै उनले धेरै जसो सांसदहरु पहिलो पटक संसदमा जान लागेको कारणपनि यो अभिमुखिकरण कार्यक्रम प्रभावकारी भएको धारणा राखिन् । रास्वपाका सांसदहरूले समग्रमा देशको सुधार, सुशासन स्थापना र प्रभावकारी कानुन निर्माणलाई प्राथमिकतामा राख्दै अघि बढ्ने बताएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १ : २५ बजे