Logo

समाचार

बाजुरामा ढुङ्गा प्रहार गरी एक जनाको हत्या



बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका २ पुडेनीमा ढुङ्गा प्रहार गरी एक जनाको ज्यान गएको छ । पुडेनी बस्ने अन्दाजी ३५ वर्षका सर्वाश बुढाको ढुङ्गा प्रहार गरी हत्या भएको हो ।

सोमबार सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षका धनबहादुर महतरा र उनका छोरा अन्दाजी १८ वर्षका हेमराज महतराले सर्वाशको टाउकोमा ढुङ्गा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे वडाध्यक्ष विष्णुबहादुर बुढाले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मुक्तिकोबाट प्रहरी नायब निरीक्षक रवीन्द्र धामीको नेतृत्वमा टोली खटिएको थियो ।

कुटपिटमा संलग्न धन बहादुर महतरालाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ भने उनका छोरा हेमराज महतरा फरार रहेका छन् । फरार व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

यस्तै अहिले इलाका प्रहरी कार्यालय बुढीनन्दबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनाको थप अनुसन्धानका लागि खटिएको जनाइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ८ : ३३ बजे