Logo

समाचार

दलहरूले पेस गरेको सूचीमा आयोगको रुजु प्रक्रिया सुरु



काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ दलहरूले पेस गरेका ११० जना निर्वाचित उम्मेदवारको नाममा ‘क्लष्टर’अनुसार रुजु प्रक्रिया सुरु गरेको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ दलले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको सूची आयोगमा बुझाएका थिए। आयोगले उक्त सूची क्लष्टरअनुसार मिले–नमिलेको जाँच गर्दै रुजु प्रक्रिया अघि बढाएको जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी का अनुसार समानुपातिकतर्फ कुल एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। तीमध्ये एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको थियो।
सदर मतमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी ले क्लष्टरअनुसार ५७ सांसदको सूची पेस गरेको छ। यसैगरी नेपाली कांग्रेस ले २०, नेकपा (एमाले) ले १६, नेपाल कम्युनिस्ट पार्टी ले नौ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले चार–चार उम्मेदवारको सूची आइतबार आयोगमा बुझाएका हुन्।
प्रवक्ता जिसीका अनुसार दलहरूले बुझाएको सूचीमा त्रुटि नभए सोमबार नै निर्वाचित उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिनेछ। यदि सूचीमा त्रुटि भेटिएर सच्याउनुपर्ने अवस्था आएमा प्रक्रिया पूरा हुन तीन दिनसम्म लाग्न सक्ने आयोगले जनाएको छ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ८ : ०० बजे