Logo

समाचार

कर नबुझाएपछि काठमाडौं महानगरले हटाउन थाल्यो विज्ञापन सामग्री


२९ फाल्गुन २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका ले सम्झौताअनुसार कर नबुझाइएका विज्ञापन सामग्री हटाउन थालेको छ । राजस्व विभागबाट पत्र प्राप्त भएपछि महानगरले विभिन्न स्थानमा राखिएका विज्ञापन बोर्ड हटाउने काम सुरु गरेको जनाएको छ ।
महानगरका अनुसार सम्झौताबमोजिम नभएपछि विज्ञापन बोर्ड हटाउने तथा नयाँ बोर्ड राख्न नदिने व्यवस्था गरिएको हो । “सम्झौताबमोजिम नभएपछि विज्ञापन बोर्ड हटाउन तथा राख्न नदिने व्यवस्थाका लागि राजस्व विभागबाट पत्र प्राप्त भएपछि हामीले हटाउन थालेका हौँ,” महानगरले जनाएको छ ।
महानगरका वरिष्ठ राजस्व अधिकृत प्रदीप कोइराला का अनुसार पछिल्लो सम्झौताअनुसार महानगरले वृद्धि गरेको विज्ञापन करअनुसार निर्माण पक्षले थप रकम बुझाउनुपर्ने भए पनि हालसम्म कर बुझाएको छैन ।
उनका अनुसार विसं २०८२ वैशाख ११ गते वृद्धि भएको रकम बुझाउन पत्राचार गरिए पनि हालसम्म १६ लाख १३ हजार २२४ रुपैयाँ बुझाउन बाँकी रहेको छ ।
बाँकी रकममध्ये १५ लाख ८३ हजार ९३९ रुपैयाँ विज्ञापन कर र २९ हजार २८५ रुपैयाँ रोयल्टी दाखिला हुन बाँकी रहेको महानगरले जनाएको छ ।
यसअघि आर्थिक वर्ष २०७८/७९ मा विज्ञापनको दर प्रतिस्क्वायर फिट ७०० रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा बढाएर प्रतिस्क्वायर फिट एक हजार रुपैयाँ पुर्‍याइएको थियो । महानगरले कर नबुझाइएका विज्ञापन सामग्री हटाउने कामलाई निरन्तरता दिइने जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  १ : ४३ बजे