काठमाडौं । प्रतिनिधिसभामा अब ६ राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । फागुन २१ मा सम्पन्न निर्वाचनको मतपरिणामपछि प्रतिनिधिसभामा दलहरूको संख्या ६ मा सीमित भएको हो।
निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जित्दै कुल १८२ सांसदसहित संसद्मा पहिलो स्थान हासिल गरेको छ।
नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो स्थानमा रहेको छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट प्राप्त गरेको हो।
त्यस्तै, नेकपा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जित्दै कुल २५ सिट पाएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी १७ सांसद प्रतिनिधिसभामा पठाउने भएको छ।
श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ४ गरी कुल ७ सिट प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ४ गरी ५ सिट जितेको छ।
यसका साथै प्रतिनिधिसभामा एक जना स्वतन्त्र सांसद पनि निर्वाचित भएका छन्।
निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै प्रतिनिधिसभाको शक्ति सन्तुलन स्पष्ट भएको छ।
२८ फाल्गुन २०८२, बिहिबार
115
Shares







प्रतिक्रिया