काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर खटिएका म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिने भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्ले ले नेपाल न्यूज बैंकसँगको कुराकानीमा म्यादी प्रहरीलाई विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर औपचारिक रूपमा बिदाइ गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार नेपाल प्रहरीको कार्यविधि अनुसार म्यादी प्रहरीलाई भेला गराई मौखिक रूपमा धन्यवाद दिइनेछ । ‘हामी भोलि उहाँहरूलाई विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर बिदाइ गर्छौं । कार्यविधिअनुसार सबैलाई भेला गरेर मौखिक रूपमा पनि धन्यवाद दिने व्यवस्था गरिएको छ,’ उनले भने ।
प्रवक्ता काफ्लेका अनुसार सम्भव भएसम्म कार्यक्रम आयोजना गरी विभिन्न स्थानका कार्यालय प्रमुखहरूको उपस्थितिमा सामूहिक फोटो खिच्ने तथा चियापान कार्यक्रमसमेत गरिनेछ ।
उनले म्यादी प्रहरीहरूको कार्यसम्पादन प्रभावकारी रहेको उल्लेख गर्दै उनीहरूको सहयोग, अनुशासन र कर्तव्यनिष्ठाका कारण निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्भव भएको बताए ।
‘उहाँहरूको सहयोग, साथ र समर्थनले नै अनुशासन कायम राख्दै कुनै ठूलो घटना बिना चुनावलाई शान्तिपूर्ण, व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गर्न सफल भयौँ,’ काफ्लेले भने । उनले निर्वाचन सफल बनाउन नेपाल प्रहरी का सदस्यहरू, अन्य सुरक्षा निकाय, निर्वाचनमा खटिएका कर्मचारी तथा नेपाल सरकार का विभिन्न निकायहरूको पनि महत्वपूर्ण भूमिका रहेको बताए ।
नेपाल प्रहरीका अनुसार देशभर सम्पन्न निर्वाचनका क्रममा १ लाख ३३ हजार ९ सय ३८ जना म्यादी प्रहरी परिचालन गरिएको थियो ।
२७ फाल्गुन २०८२, बुधबार
92
Shares








प्रतिक्रिया