Logo

समाचार

विवाहमा गएका दुई बालिकाको शव फेला, एक अझै बेपत्ता


२६ फाल्गुन २०८२, मंगलबार  

69
Shares

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ स्थित भाग्लेनजिकै सानीभेरी नदीमा मंगलबार दुई बालिकाको शव फेला परेको छ भने उनीहरूसँगै गएकी अर्की एक बालिका अझै बेपत्ता रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र १२ वर्षीया कल्पना ओलीको शव मंगलबार बिहान सानीभेरी नदी किनारामा फेला परेको हो। दुवै बालिकाको शव करिब ५०० मिटरको दूरीमा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार उनीहरूसँगै गएकी १२ वर्षीया सपना ओली भने अझै बेपत्ता छिन्। उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार तीनै जना बालिका सोमबार छिमेकीको विवाह कार्यक्रममा सहभागी भएर घर फर्कने क्रममा हराएका थिए। घर फर्कने क्रममा सानीभेरी नदीले बगाएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ४ : ०७ बजे