Logo

मुख्य समाचार

मतदाता शिक्षा प्रभावकारी नहुँदा सर्लाहीमा १९ हजार बढी मत बदर


२६ फाल्गुन २०८२, मंगलबार  

69
Shares

सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीमा प्रत्यक्षतर्फ साँढे १९ हजारभन्दा बढी मत बदर भएको छ ।

जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी १९ हजार ६ सय १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबैभन्दा बढी बदर मत निर्वाचन क्षेत्र नं. २ मा भएको छ । उक्त क्षेत्रमा ५ हजार ४ सय ८ मत बदर भएको छ । त्यसपछि क्षेत्र नं. १ मा ५ हजार ३ सय ६५ मत बदर भएको छ ।

त्यसैगरी, क्षेत्र नं. ४ मा ४ हजार ५ सय ६९ मत बदर भएको छ भने सबैभन्दा कम क्षेत्र नं. ३ मा ४ हजार २ सय ४८ मत बदर भएको छ ।
मत बदरको संख्या घटाउन जिल्ला निर्वाचन कार्यालय सर्लाहीले स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो।

उम्मेदवार र उनीहरूका प्रतिनिधिले पनि घरघरमै पुगेर मतदातालाई मतदान गर्ने तरिका सिकाएका थिए । तर यति प्रयास हुँदाहुँदै पनि ठूलो सङ्ख्यामा मत बदर भएको देखिएको छ । मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र हाल्ने जस्ता कारणले मत बदर भएको बताईएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १२ : ३४ बजे