Logo

राजनीति

निर्वाचनलाई सामान्य रूपमा नलिन प्रचण्डको आग्रह


१५ फाल्गुन २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई सामान्य राजनीतिक प्रक्रिया नभई राष्ट्र र लोकतन्त्रको रक्षासँग जोडिएको ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

शुक्रबार नेकपाको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित केन्द्रित वृहत् चुनावी कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई अधिकार र उपलब्धिको संरक्षणसँग जोडिएको संघर्षका रूपमा चित्रण गरेका हुन् ।

उनले भने, ‘यो निर्वाचनलाई हामी कसैले पनि सामान्य रूपमा लिनुहुँदैन । यो राष्ट्र, लोकतन्त्र र गणतन्त्र बचाउने तथा लामो संघर्षबाट प्राप्त महिलाका, दलितका, आदिवासी जनजातिका, मधेशी, मुस्लिम, थारु, मजदुर र किसानका अधिकारहरूको रक्षा गर्ने विषयसँग जोडिएको छ ।’

प्रचण्डले आगामी चुनावलाई राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णय अधिकारको संरक्षणसँग सम्बन्धित ‘जीवन–मरणको संघर्ष’ को संज्ञा दिँदै पार्टी कार्यकर्तालाई सक्रियताका साथ चुनावी अभियानमा जुट्न आग्रह गरे ।

‘यो निर्वाचन राष्ट्रको स्वाधिनता, नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्नको लागि जीवन मरणको संघर्षको रुपमा अगाडि आएको छ,’ उनले भने ।

उनले संविधानको रक्षा, राष्ट्रको स्वाधिनता र जनताको अधिकारको रक्षाका लागि नेकपा गठनको प्रक्रिया अघि बढाएको बताए ।
‘अहिले साना ठुलागरि दुई दर्जन पार्टी मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ, यो राष्ट्रलाई एकतावद्ध गर्न राष्ट्रको स्वाधिनता जनताको अधिकारको रक्षाका लागि नेकपा गठनको पहल गरेका हौँ’, उनले भने ।

प्रचण्डले नेकपा मात्र देशभर एकतावद्ध रुपले निर्वाचनको महाअभियानामा अगाडी बढेको र अन्य पुराना पार्टी अप्ठ्यारो परिस्थितीमा रहेको उल्लेख गर्दै अरु पार्टी रक्षात्मक रुपमा र नेकपा आक्रमक ढङगले अगाडी बढेको बताए ।

‘यस पटक नेकपाले मात्र राष्ट्रको पक्षमा र जनताको पक्षमा काम गर्न सक्दछ भन्ने कुरा देशभर मैले घुमेर हेरेको छु । सबैतिर नेकपा मात्र एकतावद्ध रुपले निर्वाचनको महाअभियानामा अगाडी बढेको छ र देशैभर उभारको स्थिति देखा परेको छ । पूराना भनेका अरु पार्टी कही न कही निकै असहज र अप्ठ्यारो परिस्थितीमा छन् । उनीहरु रक्षात्मक रुपमा छन् हामी मात्र आक्रमक ढङगले अगाडी बढेका छौ,’ उनले भने ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ३ : ३५ बजे