काठमाडौं । नेपालको रङ बजारमा अग्रणी स्थान ओगटेको एशियन पेन्ट्स (नेपाल) प्राइभेट लिमिटेडको सञ्चालन आम्दानीमा सन् २०२५ मा उल्लेखनीय सुधार देखिएको छ । अघिल्लो वर्ष (सन् २०२४) आर्थिक मन्दीका कारण व्यवसायमा भारी गिरावट व्यहोरेको कम्पनीले यस वर्ष २६ प्रतिशतभन्दा बढीको वृद्धिदर हासिल गर्दै पुनरागमन गरेको हो ।
रेटिङ एजेन्सी इक्रा नेपालले हालै सार्वजनिक गरेको विवरण अनुसार, सन् २०२५ मा कम्पनीले ५ अर्ब ८९ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी सन् २०२४ को तुलनामा १ अर्ब २२ करोड ४० लाख रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीको आम्दानी खुम्चिएर ४ अर्ब ६७ करोड ४० लाख रुपैयाँमा सीमित भएको थियो, जुन सन् २०२३ को तुलनामा करिब ४० प्रतिशतको गिरावट थियो ।
बिक्री परिमाणमा भएको वृद्धि र बिक्री मूल्यमा गरिएको परिमार्जनका कारण कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि सुधार आएको छ । सन् २०२४ मा ९.१ प्रतिशतमा झरेको नाफा मार्जिन सन् २०२५ मा बढेर १४.२ प्रतिशत पुगेको छ । यद्यपि, यो सुधार ऐतिहासिक उच्च विन्दुको तुलनामा भने अझै केही कम नै हो । सन् २०२२ मा कम्पनीको आम्दानी ८ अर्ब ५७ करोड ४० लाख रुपैयाँ र नाफा मार्जिन २१.५ प्रतिशत रहेको थियो ।
मजबूत वित्तीय आधार
एशियन पेन्ट्स नेपालको एउटा मुख्य सबल पक्ष यसको बलियो वित्तीय संरचना र न्यून ऋण भार हो । कम्पनीले विगत पाँच वर्षदेखि औसतमा आफ्नो खुद नाफाको ३५ प्रतिशत मात्र लाभांशका रूपमा वितरण गरी बाँकी हिस्सा सञ्चित गर्दै आएको छ । यसले गर्दा सन् २०२५ जुलाई मध्यसम्ममा कम्पनीको नेटवर्थ ७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । यस नेटवर्थको ९९ प्रतिशत हिस्सा सञ्चित आम्दानीले ओगटेको छ भने ७१ प्रतिशत रकम नगद सञ्चितिका रूपमा रहेको छ ।
बजार उपस्थिति र चुनौती
सन् १९८३ मा स्थापना भएको यस कम्पनीको उत्पादन प्लान्ट मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा अवस्थित छ । वार्षिक १ लाख १ हजार ८०० मेट्रिक टन उत्पादन क्षमता रहेको यस कम्पनीले ४४ भन्दा बढी ब्रान्डका रङहरू उत्पादन गर्दै आएको छ । साथै, सन् २०२२ देखि कम्पनीले बाथरुम फिटिङ्सको एसेम्बली समेत सुरु गरेको छ ।
इक्रा नेपालले कम्पनीको बलियो ब्रान्ड भ्यालु, विस्तृत डिलर नेटवर्क र भारतीय माउ कम्पनी (एशियन पेन्ट्स लिमिटेड, इन्डिया) को ५३ प्रतिशत शेयर स्वामित्वलाई सकारात्मक पक्षका रूपमा लिएको छ ।
यद्यपि, निर्माण क्षेत्रमा आउने उतारचढाव, कच्चा पदार्थको मूल्यमा हुने अस्थिरता र वैदेशिक मुद्राको जोखिम भने कम्पनीका लागि चुनौतीका रूपमा रहेका छन् । कम्पनीले भविष्यमा आफ्नै इमल्सन पेन्टको कच्चा पदार्थ उत्पादन गर्ने योजना बनाएकाले आगामी दिनमा यसको पुँजीगत खर्च बढ्न सक्ने अनुमान गरिएको छ ।










प्रतिक्रिया