Logo

मुख्य समाचार

कांग्रेस नेता बिमलेन्द्र निधिले सार्वजनिक गरे आफ्ना चार कार्ययोजना


१५ फाल्गुन २०८२, शुक्रबार  

46
Shares

जनकपुर । नेपाली कांग्रेसका नेता एव् धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बिमलेन्द्र निधिले आफ्ना चारवटा मुख्य कार्ययोजना सार्वजनिक गरेका छन् ।

शुक्रबार जनकपुरधामस्थित नीजि निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता निधिले आफू निर्वाचित भएमा मुख्य चारवटा कामहरु गर्ने बताए ।

उनले धनुषाका दक्षिण ग्रामीण भेगमा तीनवटा प्रसुती अस्पताल र तीन वटा बाल अस्पताल खोल्ने योजना बनाएको जानकारी दिए ।

नेता निधिले धनुषाका दक्षिणी ग्रामीण भेगका सर्वसाधारणहरुलाई सदरमुकाम जनकपुरधाम आएर उपचार गराउने झन्झटलाई अन्त्य गर्नका निम्ति तीन वटा स्थानमा प्रसुती अस्पताल र तीन वटा बाल अस्पताल बनाउने योजना ल्याएको बताए ।

त्यस्तै उनले धनुषाका किसानहरुका लागि मल कारखाना खोल्ने जानकारी दिए । उनले किसानहरुको मुख्य समस्या समयमा मल उपलब्ध नहुनु रहेकाले यस क्षेत्रमा एउटा मल कारखाना खोल्ने बताए । उनले यसबाट युवाहरुका लागि रोजगार पनि सृजना हुने बताए ।

त्यस्तै, वर्षौदेखि अलपत्र रहेको श्रीराम जानकी बहुउद्देश्यि अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काम पनि अगाडि बढाएर सम्पन्न गर्ने योजना उनको रहेको जानकारी दिए । उनले सम्पूर्ण कार्य पूरा भइसकेपनि केही कार्यहरुमात्र बाँकी रहेकाले आफू निर्वाचित भए रंगशालाको काम सम्पन्न गर्ने बताए ।

त्यस्तै, उनले धनुषाको धनुषाधामा रहेको धनुष मन्दिरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने आफ्नो योजना रहेको जानकारी दिए । उनले रामायणकालिन इतिहास जिवन्त राख्न धनुष मन्दिरलाई जानकी मन्दिर र अयोध्या जस्तै विकास गर्ने लक्ष्य लिएको बताए । उनले धनुषाधाम अन्तराष्ट्रिय पर्यटकहरुको गन्तव्य हुनेमा कुनै शंका नरहेको बताए ।

नेता निधिले नेपाली कांग्रेसले विगतमा धनुषावासीका लागि गरेको कामहरु यस भेगका जनताले मूल्यांकन गर्ने र फेरि पनि आफूलाई जिताउनेमा विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ११ : २१ बजे