काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी चुनावलाई बाध्यताको चुनाव भएको बताएका छन् । नेपाली कांग्रेसले सुर्खेतमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले अहिलेको चुनाव नेपालका लागि संविधानलाई सही ट्रयाकमा राख्न अनिवार्य सर्तसमेत भएको उल्लेख गरे ।
चुनाव सफल बनाउन नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गरिसकेको बताउँदै उनले फागुन २१ गतेको चुनावको सन्दर्भमा भदौ २३ र २४ गतेका घटनालाई बिर्सन नहुने धारणा राखे ।
उनले भने, ‘यो चुनाव बाध्यताको चुनाव हो । यो चुनाव नेपालका लागि अहिले हाम्रो संविधानलाई ट्रयाकमा राख्नका निम्ती अनिवार्य सर्त पनि हो। चुनाव सफल बनाउनका निम्ती नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गरेको छ । फागुन २१ गतेको चुनावको सन्दर्भमा हामीले भाद्र २३ र २४ गतेको कुरालाई बिर्सेर हुँदैन ।’
उनले देशमा अब सरकारको गोलीबाट कुनै नागरिकको ज्यान जान नहुने र कुनै पनि व्यक्तिले नकाब लगाएर सिंहदरबार जलाउने जस्ता गतिविधि गर्न नपाउने अवस्था सिर्जना गर्नुपर्ने बताए । त्यसका लागि चुनावमा जाँदा भदौ २३ र २४ का घटनालाई गम्भीर रूपमा मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो ।
थापाले केही शक्तिहरूले भदौ २३ र २४ मा भएका घटनालाई इन्कार गर्ने प्रवृत्ति देखिएको आरोप लगाए । ती घटनाअघि सबै कुरा सामान्य थियो भन्ने तर्क गलत भएको उनको जिकिर थियो ।
उनले भने, ‘यो देशमा अब सरकारको गोलीबाट कुनै व्यक्तिको ज्यान जानु हुँदैन । यो देशमा कुनै मुकुण्डोधारीले नकाब लगाएर सिंहदरबार जलाउन पनि पाउनु हुन्न । यो अवस्था सिर्जना गर्नुपर्नेछ । त्यसको लागि चुनावमा जाँदै गर्दा भाद्र २३ र २४ लाई हामीले हेर्नैपर्छ । एउटा परवृत्ति छ भाद्र २३ र २४ गते जे भयो त्यसलाई उसले इन्कार गर्छ । २३ र २४ गते अगाडि सबैले दुधभात खाएका थिए देश ठिक थियो । नेपाली कांग्रेस भिन्न सोचका साथ उभिएको छ । नेपालको राजनीति फोहोर भएको छ । गठबन्धनको राजनीतिले नेपालको समग्र राजनीतिलाई दूषित बनाएको छ । त्यसैले नेपाली कांग्रेस एउटा संकल्पका साथ यो फोहोर राजनीतिलाई हामी सफा गर्छौं । यो प्रदूषित राजनीतिलाई हामी सफा गर्छौं । ८२ देखि ८७ सम्मको पाँच वर्ष हामी देश र जनतालाई स्वर्णिमकाल हामी बनाउँछौं भन्ने सपना बोकेर आएका छौं ।’
उनले नेपालको राजनीति फोहोर र प्रदूषित बनेको उल्लेख गर्दै गठबन्धनको राजनीतिले समग्र राजनीतिक वातावरणलाई दूषित बनाएको आरोप लगाए । नेपाली कांग्रेस फरक सोच र संकल्पका साथ अघि बढेको बताउँदै उनले फोहोर तथा प्रदूषित राजनीतिलाई सफा गर्ने प्रतिबद्धता व्यक्त गरे । ८२ देखि ८७ सम्मको पाँच वर्षलाई देश र जनताका लागि स्वर्णिमकाल बनाउने सपना बोकेर कांग्रेस अघि बढेको पनि उनले बताए ।










प्रतिक्रिया