रौतहट । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन रौतहट जिल्लाभर मदिरा बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले एक जरुरी सूचना जारी गर्दै निर्वाचन सुरक्षा संवेदनशीलताका कारण यस्तो निर्णय गरेको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार निर्वाचनको पूर्वसन्ध्यादेखि नै शान्ति सुरक्षा कायम गर्न फागुन १८ गतेदेखि निर्वाचनको अन्तिम नतिजा नआएसम्म वा निर्वाचन नसकिएसम्मका लागि मदिरा निषेध गरिएको छ । यो निर्णय जिल्लाभरका सबै स्थानीय तह, ग्रामीण क्षेत्र र सहरी क्षेत्रमा समान रूपमा लागू हुनेछ ।
निर्वाचनका समयमा मदिरा सेवनका कारण हुनसक्ने झै–झगडा, सामाजिक सद्भावमा आँच आउने गतिविधि र चुनावी हिंसालाई रोक्न प्रशासनले यो नीति अपनाएको हो। जिल्ला प्रशासन कार्यालय रौतहटले होटल व्यवसायी, मदिरा वितरक, राजनीतिक दल, नागरिक समाज र सर्वसाधारण सबैलाई यस निर्णयको पूर्ण पालना गर्न अपील गरेको छ ।
प्रजिअ भुसालले भने, ‘निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नु प्रशासनको मुख्य जिम्मेवारी हो । यस कार्यमा खलल पुग्ने कुनै पनि गतिविधि स्वीकार्य हुने छैन । मदिरा निषेधको उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिनेछ।’
निर्णयको प्रभावकारी कार्यान्वयनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष टोलीले जिल्लाका विभिन्न स्थानमा आकस्मिक अनुगमन गर्नेछ । विशेषगरी सीमावर्ती क्षेत्र र होटल–रेष्टुरेन्टहरूमा प्रशासनले कडा निगरानी राख्ने योजना बनाएको छ । स्थानीय निर्वाचन सुरक्षा योजना अन्तर्गत सार्वजनिक शान्ति र सामाजिक सद्भाव कायम राख्नु नै यस कदमको मुख्य उद्देश्य रहेको प्रशासनले प्रष्ट पारेको छ ।
१४ फाल्गुन २०८२, बिहिबार
115
Shares








प्रतिक्रिया