काठमाडौैं । धादिङमा गएराति भएको दुःखद् बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा उच्चस्तरीय बैठक बसेको छ ।
मन्त्री अर्याल, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारिसहितको बैठकले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
बैठकले घाइतेहरुको उपचारलाई प्राथमिकता दिएर प्रभावकारी बनाउने, घटनाको सत्यतथ्य पत्ता लगाउन दुर्घटना जाँचबुझ समिति गठन गरी शिघ्र प्रतिवेदन बुझाएर यथाशिघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ । यातायात क्षेत्रको नियमनलाई प्रभावकारी बनाउँदै नियामक निकाय र बस व्यवसायी समितिलाई जिम्मेवार बनाउने पनि बैठकले निर्णय गरेको छ ।
आगामी दिनमा सडक दुर्घटना न्यूनीकरणका लागि कडाइकासाथ कानून कार्यान्वयन गर्ने र यातायात व्यवसायी, बस चालस सहचालकलाई जिम्मेवार बनाउने निर्णय भएको छ ।
सडक दुर्घटनाबाट हुने मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै गृहमन्त्री अर्यालले उद्धार र उपचारलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले आगामी दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सडक सुरक्षामा बनेका कानूनहरुको प्रभावकारी कार्यान्वयन र कडाईकासाथ नियमन गर्न निर्देशन दिए ।
दुर्घटनाका दोषिलाई कानूनी दायरामा ल्याउन निर्देशन दिए । निर्वाचन सुरक्षा चुस्त गर्नुपर्ने समयमा यस्ता ठूला मानवीय सडक दुर्घटनाले सुरक्षामा चुनौति थपिनसक्ने खतरा औल्याउँदै बेलैमा चनाखो भएर जिम्मेवारीपूर्वका लाग्न सबै सरोकारवालाहरुलाई आग्रह गरे ।
पृथ्वी राजमार्ग अन्तगर्त पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस राति १ बजेर ३० मिनेटमा धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त हुँदा १७ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्युभएको थियो भने २५ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
११ फाल्गुन २०८२, सोमबार
0
Shares








प्रतिक्रिया