काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार फागुन ९ गते काठमाडौंका विभिन्न स्थानमा मर्मत तथा प्रणाली सुदृढीकरण कार्यका कारण बिजुली कटौती गर्ने जनाएको छ।
प्राधिकरणले जारी गरेको सूचनाअनुसार बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामंगल चोक र तिलगंगा क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध हुनेछ। तिलगंगा आँखा अस्पतालअगाडि रहेको विद्युत् पोल ढल्किएकाले त्यसलाई व्यवस्थापन गर्न ११ केभी क्षमताको प्रसारण लाइन सटडाउन गर्न लागिएको हो।
यसअनुसार तिलगंगा, प्रकाश संन्यास आश्रम, शम्भुमार्ग, गौशाखा र विमानस्थल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि १२:३० बजेसम्म बिजुली कटौती हुनेछ। त्यस्तै, तिनकुने, गैरीगाउँ, सिनामंगल र विमानस्थल क्षेत्रअन्तर्गतका सबै स्थानमा दिउँसो १ बजेदेखि २:३० बजेसम्म बिजुली आपूर्ति बन्द रहनेछ।
यसैगरी, महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा पनि बिजुली कटौती गरिने भएको छ। काठमाडौं उपत्यकाका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत वितरण प्रणाली भूमिगत गर्ने कार्य भइरहेकाले सो कार्य सम्पन्न गर्न बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग र प्रधानमन्त्री निवास आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुनेछ। साथै, हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर र धापासी आसपासका क्षेत्रमा पनि सोही अवधिमा बिजुली आपूर्ति बन्द रहनेछ।
त्यस्तै, वंशीधर मार्ग, चण्डोल, विशालनगर, सेन्ट्रल अपार्टमेन्ट तथा टुँडालदेवी मन्दिर आसपासका क्षेत्रमा दिउँसो १२ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुने जनाइएको छ।
प्राधिकरणले मर्मत तथा सुदृढीकरण कार्यपछि तोकिएको समयअगावै बिजुली आपूर्ति पुनः सुचारु गर्न प्रयास गरिने जनाएको छ। साथै, बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना पनि गरेको छ।
९ फाल्गुन २०८२, शनिबार
69
Shares









प्रतिक्रिया