काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट काठमाडौं क्षेत्र नम्बर–३ का उम्मेदवार सुन्दरसिंह बोहोराले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी र दृष्टिकोणबारे जानकारी दिएका छन् ।
उनले आम नागरिकले भदौ २३ र २४ पछाडि परिवर्तन अनुभव गरेको उल्लेख गर्दै उनले मौलिक संस्कृतिमा बसेर परिवर्तन गर्न चाहेको बताए ।
‘हामी त्यसलाई आत्मसात गर्छौँ र परिवर्तन चाहन्छौँ, तर मौलिकतामा आधारित रहेर । मौलिक संस्कृतिमा बसेर परिवर्तन चाहन्छौँ। नवीनतम सोच ल्याउन चाहन्छौँ र एआईसँग पनि आत्मसात गर्न चाहन्छौँ,’ उनले भने ।
बोहोराले गरिमामय सदनमा सांसदको रूपमा प्रभावशाली व्यक्ति चाहिएको बताए ।
उनले प्रश्न गर्दै भने, ‘तपाईं गरिमामय सदनमा बोलिरहँदा सत्य, तथ्य, र सूचनामा आधारित बोल्ने व्यक्ति देख्न चाहनुहुन्छ कि केवल ‘ए भाले, मलाई भोट हाल’ भन्न आउने मान्छे देख्न चाहनुहुन्छ ?’
उनले नेपालको राजनीतिक इतिहासको समीक्षा गर्दै प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रले मुलुकको हितका लागि काम नगरेको बताए ।
उनले भने, ‘२०४६ देखि धेरै देख्यौँ, प्रजातन्त्र पनि देख्यौँ, गणतन्त्र पनि देख्यौँ । संविधानपछि लोकतन्त्र पनि देख्यौँ, तर यो लोकतन्त्र वास्तवमा नेपालको होइन — यो शब्द बाहिरबाट आयातित हो । तर मैले मुलुकको हितका लागि विचार गरेर काम गरेको हुँ ।’
बोहराले आफ्नो उम्मेदवारीमा मौलिक मूल्य र नवीन सोचको संयोजन ल्याउने बताउँदै आगामी निर्वाचनमा आम जनता र युवा पुस्तालाई विश्वास र सहकार्यका लागि आह्वान गरे ।
उनले थप भने, ‘हामी देशको समृद्धि, विज्ञान र प्रविधिको प्रयोग, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्पादन क्षमता वृद्धि गर्ने लक्ष्यमा केन्द्रित छौँ।’










प्रतिक्रिया