कास्की। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् ।
कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै उनले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका हुन् ।
अहिले समाजमा नागरिकहरूबीच गहिरो रीस र राज्यका संयन्त्रहरूप्रति चरम अविश्वास रहेको भन्दै उनले यस्तो संवेदनशील अवस्थामा जिम्मेवार राजनीतिक शक्तिको खाँचो रहेको बताएका हुन् ।
‘देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले । आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ । त्यो तागत हामीले राख्नुपर्ने छ,’ उनले भने, ‘उत्तेजना जसले पनि फैलाउन सक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई । त्यो कांग्रेस हो । हामीले मिलाउँछौँ, हामीले सम्हाल्छौँ’ सभापति थापाले नागरिकमा गहिरो असन्तुष्टि रहेको भन्दै आगामी दिनमा सुधारबाटै उनीहरूलाई जवाफ दिनुपर्ने बताए ।
‘नागरिकहरूमा रीस छ । त्यो रीस गहिरो छ । राज्यका संस्थाहरू, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ,’ उनले अघि थपे, ‘यो अविश्वास झाँगिँदै गएर सिङ्गो देशले नै आत्मविश्वास गुमाएको जस्तो अवस्था छ । समाजमा एउटा ठुलो कोलाहल छ, भित्रभित्र आगो बलिरहेको छ । यो बेलामा नेपाली कांग्रेस पार्टीको जिम्मेवारी हो यसलाई सम्हाल्ने ।’
मुलुकमा देखिएको निराशाको मुख्य जड भ्रष्टाचार रहेको उनको तर्क छ । ‘सबैभन्दा ठुलो शत्रु नेपालको को हो भनेर सोध्यो भने नागरिकले भन्छ ‘करप्सन’ । भ्रष्टाचार विरुद्धको सबैभन्दा ठुलो योद्धा बदलिएर आएको नेपाली कांग्रेस हो,’ उनी भन्छन्, ‘जसको टाउकोदेखि पुच्छरसम्म प्रत्येक नेता एउटा सङ्कल्प गरेर आएको छ । नेपाललाई जसरी हिजो हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट हामी बाहिर निकाल्छौँ ।’
उनले घरदैलोमा जाँदा कांग्रेसले देश सम्हाल्छ र सुधार्छ भन्ने सन्देश लिएर जान पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।










प्रतिक्रिया