कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित बैजनाथ आधारभूत विद्यालयमा भएको जातीय विभेदको घटनाप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले भत्र्सना गरेको छ ।
सरस्वती पूजाको दिनमा उक्त घट्ना भएको थियो । संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा विद्यालयजस्तो समानता र गरिमाको प्रतीक मानिने शैक्षिक संस्थामै जातीय अहंकार प्रदर्शन हुनु अत्यन्त निन्दनीय, आपत्तिजनक तथा अस्वीकार्य भएको उल्लेख गरिएको छ ।
उक्त विद्यालयमा कार्यरत शिक्षक गजिराम सार्कीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागरकुमार भण्डारीले ‘तल्लो जात’ को भन्दै पातमा टीका लगाइदिएको तथा कथित पुजारीले टीका लगाउन अस्वीकार गरेको आरोप छ । यसलाई संगठनले अमानवीय, अपमानजनक र छुवाछूतजन्य व्यवहारको रूपमा चित्रण गरेको छ ।
अखिल (क्रान्तिकारी) ले यो घटना व्यक्तिगत दुव्र्यवहार मात्र नभई दलित समुदायमाथि भइरहेको संरचनागत विभेद र गम्भीर सामाजिक अपराध भएको जनाएको छ। संगठनका अनुसार नेपालको संविधान र जातीय विभेद तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ अनुसार यस्ता कार्य दण्डनीय अपराध हुन् ।
विद्यालयभित्रै यस्तो घटना हुनु राज्य संयन्त्रको कमजोरी र समाजमा अझै कायम दरिद्र सामन्ती सोचको निरन्तरता भएको संगठनको ठहर छ । विज्ञप्तिमा विद्यालय प्रशासन र राज्य संरचनाभित्र विद्यमान जातीय विभेद, दण्डहीनता र जवाफदेहिताको अभाव यस घटनाले उजागर गरेको उल्लेख गरिएको छ ।
संगठनले दोषीमाथि यथाशीघ्र कडा कानुनी कारबाही गर्न र पीडितलाई सामाजिक आत्मसम्मानसहित उचित क्षतिपूर्ति दिन माग गरेको छ । साथै, यस्ता कार्य दोहोरिन नदिन सम्बन्धित सबै पक्षलाई सचेत रहन आग्रह गरिएको छ । माग पूरा नभए दोषीविरुद्ध संगठन स्वयं कारबाहीमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) की उपाध्यक्ष रूपा बुढामगरद्वारा हस्ताक्षरित विज्ञप्ति यस्तो चेतावनी दिइएको छ ।











प्रतिक्रिया