Logo

समाचार

दाङमा नक्कली कागजात बनाएर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएको प्रकरणमा पाँच जनाविरुद्ध आरोपपत्र



काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले दाङ जिल्लामा नक्कली कागजात तयार गरी भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाएको अभियोगमा पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अदुअआका अनुसार राजपुर गाउँपालिका–४, दाङका वडा कार्यालय र इलाका प्रशासन कार्यालय, लमहीका कर्मचारीहरू मिलेमतोमा भारतीय नागरिक आलम जोल्हालाई नेपाली नागरिकता दिलाउन झुट्टा कागजात तयार गरी प्रयोग गरेका थिए।

अनुसन्धानबाट आलम जोल्हालाई राजपुर–४ का स्वर्गीय सनाउल्ला जोल्हाको छोरा देखाएर नागरिकता दिलाइएको खुलेको छ। त्यसका लागि सनाउल्ला जोल्हाको मृत्यु मिति २०३८/०१/१५ बाट सच्याएर २०४१/०१/१५ बनाइएको, आलम जोल्हाको जन्म मिति २०३९/११/२५ मा राजपुर (साबिक वडा नं. ३, दुलैया) मा भएको भनी झुट्टा जन्मदर्ता तयार गरिएको, आएसा जोल्हाले आलमलाई आफ्नो सहोदर भाइ हो भनी झुट्टा सनाखत गरेको, वडा अध्यक्षबाट बिना जाँच सिफारिस गराइएको तथा सोही कागजातका आधारमा इलाका प्रशासन कार्यालय, लमहीबाट मिति २०७५/०८/२८ मा ना.प्र.नं. 52-06-75-03826 को नागरिकताको प्रमाणपत्र जारी गरिएको पाइएको छ।

अदुअआका अनुसार तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवासले स्थानीय प्रहरीमार्फत सत्यापन गर्नुपर्ने र कागजातहरू जाँच गर्नुपर्ने कानुनी दायित्व बेवास्ता गरी मिलेमतोमा नागरिकता जारी गरेका थिए।

यस प्रकरणमा इलाका प्रशासन कार्यालय, लमहीका तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास र राजपुर गाउँपालिका–४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव (अहिर) विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अन्तर्गत कसुर ठहर गरिएको छ। त्यसैगरी वडा सचिव (स्थानीय पञ्जिकाधिकारी) राजेश कुमार कहार र कार्यालय सहायक मिना चौधरी विरुद्ध सोही ऐनको दफा ११ अन्तर्गत अभियोग लगाइएको छ। आलम जोल्हा र आएसा जोल्हालाई मुख्य कसुरदारलाई सहयोग गर्ने मतियारको रूपमा दफा ९, ११ र २२ अन्तर्गत कारबाही माग गरिएको छ।

उनीहरू सबैविरुद्ध कैद तथा जरिवानाको सजाय मागदाबी गरिएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ३ : ०८ बजे