Logo

मुख्य समाचार

लघुवित्तलाई बलियो बनाउन सरोकारवालाको जोड



काठमाडौँ। नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउन लघुवित्त संस्थालाई बलियो बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा काठमाडौँमा आयोजित “लघुवित्तका समस्या र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन र गरिबी न्यूनीकरण गर्न लघुवित्तको भूमिका महत्वपूर्ण रहेको बताएका हुन्।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थविद् डा. गुणाकर भट्टले लघुवित्त क्षेत्रमा देखिएका समस्याको समाधान साझा प्रयासबाट खोज्नुपर्ने बताए। केही संस्थामा समस्या देखिँदैमा सम्पूर्ण लघुवित्त क्षेत्र नै असफल भएको ठहर गर्न नमिल्ने उनको भनाइ थियो। उनले लघुवित्तमा समस्या मात्र नभई सम्भावना पनि प्रशस्त रहेको उल्लेख गर्दै अर्थतन्त्र चलायमान बनाउन यसको योगदान महत्वपूर्ण रहने बताए।

भट्टले लघुवित्त क्षेत्रले सरकार, नियामक निकाय तथा सरोकारवालासँग आफ्ना विषय सामूहिक रूपमा उठाउनुपर्नेमा जोड दिए। “समस्या जस्तै समाधान पनि संगै आउँछ, त्यसका लागि नीतिगत पैरवी आवश्यक छ,” उनले भने।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वासु अधिकारीले नियामक निकायको नीति, कानुन तथा हालै भएका परिमार्जनबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार देशभरका ३५ भन्दा बढी लघुवित्त संस्थाका प्रमुखहरूको सहभागितामा दुईपक्षीय छलफल गरिएको हो।

अधिकारीले सुधारको सुरुवात आफैंबाट गर्नुपर्ने उल्लेख गर्दै संस्थागत सुशासनमा विशेष ध्यान दिन आग्रह गरे।

कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागका उपनिर्देशक पिताम्बर पोख्रेलले लघुवित्त क्षेत्र नियामकीय रूपमा सहज बनाउन आफूहरू तयार रहेको बताए। केही व्यक्तिको गलत क्रियाकलापका कारण समग्र क्षेत्र बदनाम भएको उनको भनाइ थियो।

कार्यक्रममा नेरुडे मिर्मिरे लघुवित्तका पूर्व प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले लघुवित्त क्षेत्रका समस्या, चुनौती तथा दिगो व्यावसायिक सन्तुलनबारे कार्यपत्र प्रस्तुत गरे। त्यस्तै नेपाल राष्ट्र बैंकका उपनिर्देशक विवेक कोइरालाले नियामकीय रणनीतिबारे कार्यपत्र प्रस्तुत गरे।

चार्टर्ड एकाउन्टेन्ट विदुर लुइँटेलले लघुवित्त संस्थामा कर्जा नोक्सानी व्यवस्थासम्बन्धी प्रस्तुति दिएका थिए।

कार्यक्रमको समापन गर्दै साना किसान विकास लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापाले लघुवित्त क्षेत्रमा गहिरो अनुसन्धान आवश्यक रहेको बताए। सतही धारणामा होइन, तथ्यमा आधारित बहस आवश्यक रहेको उनले बताए। सकारात्मक कार्य गर्ने संस्थालाई प्रोत्साहन र कमजोर पक्षलाई सुधारको अवसर दिनुपर्नेमा उनले जोड दिए।

साना किसान विकास लघुवित्तले लघुवित्त क्षेत्रका समस्या र चुनौतीबारे केन्द्र, प्रदेश र स्थानीय तहमा अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ। संस्थाले हाल देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्दै ग्रामीण किसानलाई आयआर्जनसँग जोड्ने कार्य गर्दै आएको जनाएको छ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  १ : ०८ बजे