काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा विकाससम्बन्धी निजी क्षेत्रका मुद्दाहरू राजनीतिक दलहरूको घोषणापत्रमा प्राथमिकताका साथ समावेश गर्न आग्रह गरेको छ।
शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टीलगायतका दलका शीर्ष नेताहरूलाई पत्र पठाउँदै इप्पानले ऊर्जा सुरक्षालाई सुदृढ बनाउने र नेपाललाई शतप्रतिशत स्वच्छ तथा हरित ऊर्जा उपयोग गर्ने राष्ट्रको रूपमा विकास गर्न स्पष्ट नीति आवश्यक रहेको जनाएको हो।
इप्पान अध्यक्ष गणेश कार्कीका अनुसार ऊर्जा क्षेत्र मुलुकको समृद्धि र विकासको प्रमुख आधार बनेकाले थप लगानी आकर्षित गर्न राजनीतिक प्रतिबद्धता अनिवार्य छ। उनले निजी क्षेत्रलाई विद्युत व्यापार, प्रसारण र वितरणमा समावेश नगरेसम्म ऊर्जा विकासको लक्ष्य पूरा नहुने बताए।
निजी क्षेत्रले २६ वर्षमा ३ हजार ३ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन गरिसकेको छ भने ५ हजार ७ सय मेगावाटका १९० आयोजना निर्माणाधीन र ३६ हजार ३३६ मेगावाट क्षमताका ९५८ आयोजना अध्ययन चरणमा छन्। यस क्षेत्रमा करिब १३ खर्ब रुपैयाँ लगानी भइसकेको इप्पानले जनाएको छ।
जल तथा ऊर्जा आयोगको अध्ययनअनुसार नेपालमा १ लाख २० हजार मेगावाट उत्पादन क्षमता भए पनि हालसम्म करिब ४ हजार मेगावाट मात्रै उत्पादन भएको छ। राष्ट्रिय योजना आयोगले १६औं योजनामा ८ हजार ५ सय मेगावाट र दीर्घकालीन रूपमा ४० हजार मेगावाट उत्पादन लक्ष्य राखेको छ। ऊर्जा विकास मार्गचित्र–२०८१ र तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) ले सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने लक्ष्य निर्धारण गरेका छन्।
इप्पानले यी लक्ष्य हासिल गर्न विद्युत ऐन संशोधन, बहुविक्रेता–बहुक्रेता प्रणाली कार्यान्वयन, विद्युत खरिद सम्झौता (पीपीए) खुला गर्ने, स्वदेशी–विदेशी लगानी सुरक्षित बनाउने, निर्यात प्रवर्द्धन, वन क्षेत्र उपयोग सरलीकरण, ऊर्जा क्षेत्रलाई बन्द–हड्तालमुक्त घोषणा गर्ने र ऊर्जा एकेडेमी स्थापना गर्नेलगायत १३ बुँदे माग अघि सारेको छ।
९ माघ २०८२, शुक्रबार
69
Shares










प्रतिक्रिया