काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (CLICL) र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH)बीच बाल अस्पताल निर्माणका लागि सहकार्यसम्बन्धी सम्झौता भएको छ।
बुधबार (पुस ३०, २०८२) सम्पन्न सम्झौताअनुसार सिटिजन्स लाइफले केआईओसीएचलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनेछ। उक्त रकम काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७ मा निर्माण हुने केआईओसीएच–काठमाडौं चिल्ड्रेन्स अस्पतालमा खर्च गरिनेछ।
सम्झौतामा सिटिजन्स लाइफका तर्फबाट अध्यक्ष प्रदीप जंग पाण्डे र केआईओसीएचका तर्फबाट संस्थापक अध्यक्ष प्रा. डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन्। साक्षीका रूपमा सिटिजन्स लाइफका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र केआईओसीएचका प्रमुख सञ्चालन अधिकृत दिपेन्द्र खड्काले हस्ताक्षर गरेका छन्।
केआईओसीएचले बालस्वास्थ्य सेवा सहज, सुलभ र सर्वसुलभ बनाउने उद्देश्यसहित २०० शैय्याको अत्याधुनिक बाल अस्पताल निर्माण गर्न लागेको जनाएको छ। संस्थाका अनुसार भविष्यमा उक्त सेवालाई देशका अन्य प्रदेशहरूमा समेत विस्तार गर्ने योजना रहेको छ।
सम्झौताअनुसार परियोजना सम्पन्न भएपछि अस्पताल परिसरमा केआईओसीएचको डोनर नेमिङ पोलिसीअनुसार सिटिजन्स लाइफको नाम समावेश गरिनेछ। साथै, सिटिजन्स लाइफले आवश्यक परे परियोजना स्थलको अनुगमन गर्न सक्नेछ भने केआईओसीएचले वार्षिक प्रगति विवरण उपलब्ध गराउनेछ।
दुवै संस्थाले पारदर्शिता र उत्तरदायित्वका आधारमा भविष्यमा पनि आवश्यकता र स्रोतको उपलब्धताअनुसार सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।











प्रतिक्रिया