Logo

कला/साहित्य

‘आर्ट इन हिमालयज २०२६’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु



काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभाग, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग तथा इसेन्स अफ मुलर्यानीको सहकार्यमा मङ्गलवारबाट ‘आर्ट इन हिमालयज २०२६’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ ।
प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र इसेन्स अफ मुलर्यानीका प्रमुख लोरा डी. मर्फीले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपालसँगै विदेशका कलाकारहरूको कलाकृतिसँगै सांस्कृतिक आदानप्रदानमा यस प्रदर्शनीले थप सहयोग गर्ने बताएका थिए ।
प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तावा राईले पूर्वीय विम्ब, मिथकदेखि हिमाल, तराईका चित्रहरूसमेत प्रदर्शनीमा समावेश भएको र यसले अन्तर्राष्ट्रिय भाइचारासमेत कायम गर्ने बताए ।
आयरल्यान्डका कलाकार तथा इसेन्स अफ मुलर्यानीका प्रमुख लोरा डी. मर्फीले नेपालमा आफू पहिलो पटक ३० वर्षअघि आएको पलदेखि हालसम्म नेपालले धेरै माया गरेको बताउँदै प्रदर्शनीमा सहभागी सबैल कलाकारप्रति आभार व्यक्त गरेका छन् ।
प्रदर्शनीका क्युरेटर प्रदीप शाक्यले कलाको भाषा नै सञ्चारको सशक्त माध्यम रहेको बताउँदै प्रदर्शनीमा नेपालसँगै अन्य देशका प्रयोगात्मक कलासमेत समावेश भएको धारणा राखे ।
प्रदर्शनीमा नेपाल, अमेरिका, अस्टे«लिया, बेलायत, डेनमार्क, क्यानडा र आयरल्यान्डका गरी १५ जना विदेशी कलाकारका ८० भन्दा बढी कलाकृति रहेका छन् । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धर, प्रतिष्ठानका पदाधिकारी, इसेन्न्स अफ मूल¥यानीका नेपाल संयोजक डिल्ली तुलाधरसँगै अग्रज तथा नयाँ पुस्ताका कलाकार, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो । प्रदर्शनी माघ १ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ६ : ३६ बजे