Logo

राजनीति

सामान्य कामबाट पनि जनतामा सुशासनको अनुभूती गराउन सकिन्छ : मन्त्री खरेल



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जनतालाई परिवर्तनको अनुभुति गराउने काम सरकारी कार्यालयहरुबाटै हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमनमा पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै उनले कर्मचारी र जनताबीच नङ–मासुको सम्बन्ध हुन्छ भन्ने कुरा स्थापित गर्नुपर्ने भन्दै त्यसको सुरुवात सरकारी कार्यालयहरुबाटै हुनुपर्ने बताए ।
उनले भने, ‘सबै नेपाली जनता, सरकारी कर्मचारी, सबै राष्ट्र सेवक कर्मचारीहरुलाई म के भन्छु भने–जनतालाई परिवर्तनको अनुभुति हाम्रा सरकारी कार्यालयहरुबाटै हुनुपर्छ । त्यसतर्फ अगाडि बढ्यौँ भने कर्मचारी र जनता चाँही नङ–मासु हो, त्यो साच्चिकै हो । त्यो कुरा अझै स्थापित भएर जान्छ ।’
यस्तै, उनले कर्मचारी र राजनीतिकर्मी सधैँ जनताको सेवाको लागि नै रहेको कुरा जनतालाई विश्वास दिलाउन सक्नु पर्ने बताए ।
उनले भने, ‘हामी जनताका सेवक हौं कर्मचारी पनि र राजनीतिकर्मी पनि भन्ने अनुभूति हामीले जति सक्दो जनतालाई बढी दिलाउन सक्यौँ, त्यति बढि जनतालाई यो राज्य मेरो हो, यो राष्ट्र मेरो हो । कर्मचारी मेरा हुन् । राजनीतिक दल र पार्टीहरु पनि हाम्रा हुन् र जनताका लागि हुन भन्ने अनुभूति हुन्छ ।’
साथै, काठमाडौं जिल्ला प्रशासन कार्यालयल ‘पब्लिक अनाउन्समेन्ट सर्भिस’ मार्फत जनतालाई सेवा दिने काम सुरु गरेको उल्लेख गर्दै ठूलो खर्च होईन यस्तै सामान्य कामहरुले पनि जनतामा सुशासनको अनुभूती गराउन सकिने उनको भनाई छ ।
उनले भने, ‘जनतालाई दिनुपर्ने सेवाका कामहरुमा अहिले ‘पब्लिक अनाउन्समेन्ट सर्भिस’ मार्फत काठमाडौं जिल्ला प्रशासन कार्यालयले गरेको काम र प्रमुख जिल्लम अधिकारीहरुको नेतृत्वमा भएको कामको म उच्च प्रसंशा गर्न चहान्छु । यो जेनजी जनआन्दोलनको जगमा बनेको सरकार र जेनजीहरुको एउटा महत्वपूर्ण माग मध्य सुशासन पनि एउटा हो । त्यो सुशासनको अनुभूतीको लागि ठूलो खर्च गर्नु पर्दैन् । सामान्य कुराबाट पनि सुशासनको अनुभूती गराउन सकिन्छ । तपाईले जनताको सेवाको लागि ‘पब्लिक अनाउन्समेन्ट सर्भिस’ जुन सुरु गर्नु भएको छ यो एकदमै राम्रो सुरुवात हो ।’

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ६ : २८ बजे