दार्चुला। अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध आयोजना प्रभावित स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्।
कम्पनीले सेयर जारी गर्ने तयारी गरिरहेका बेला आयोजना प्रभावितले प्रत्यक्ष लाभ नपाउने अवस्था सिर्जना भएको भन्दै स्थानीयले मकरीगाड सेयर वितरण संघर्ष समिति गठन गरी कम्पनीलाई ज्ञापनपत्र बुझाएका हुन्।
संघर्ष समितिका संयोजक देवेन्द्रसिंह रोकायाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक रूपमा कमजोर तथा गरिब स्थानीय नागरिकलाई निःशुल्क सेयर उपलब्ध गराउनुपर्ने र आयोजना प्रभावित क्षेत्रका नागरिकका लागि कम्तीमा ८० प्रतिशत सेयर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।
ज्ञापनपत्रमा आयोजनाका कारण क्षति पुगेका सडकमा पक्की पर्खाल र तटबन्ध निर्माण गर्नुपर्ने, प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार विकास गर्नुपर्ने, पानीका मुहान सुक्ने स्थानमा खानेपानी योजना सञ्चालन गर्नुपर्ने तथा विस्थापित परम्परागत घट्टको सट्टा नयाँ पानी घट्ट निर्माण गर्नुपर्ने माग उल्लेख गरिएको छ।
त्यस्तै, आयोजना प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण र आधारभूत स्वास्थ्य संस्थामा आवश्यक उपकरण उपलब्ध गराउन पनि कम्पनीसँग माग गरिएको छ।
संघर्ष समितिले तीन दिनभित्र माग सम्बोधन नगरे मकरीगाड हाइड्रोपावर बन्द गर्ने चेतावनी दिएको छ।
यसैबीच, संघर्ष समितिले सेयर वितरण र आयोजनासम्बन्धी विषयमा आवश्यक समन्वय गर्न अपिहिमाल गाउँपालिकालाई पनि ज्ञापनपत्र बुझाएको छ। गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालाई ज्ञापन बुझाउँदै स्थानीयले आयोजना प्रभावितले पाउने सेवा–सुविधाका विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।











प्रतिक्रिया