Logo

राजनीति

कांग्रेसको १५औँ महाधिवेशन वैशाखको अन्तिममा हुँदै



काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अब वैशाखको अन्तिममा आयोजना हुने भएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बहुमतले महाधिवेशनको नयाँ मिति तय गरेको हो।
बैठकले केन्द्रीय समितिसहित तल्ला तहका सबै समितिको कार्यकाल सोही मितिसम्म थप्ने निर्णय पनि गरेको छ। कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, साथै सदस्य अर्जननरसिंह केसी, फरमुल्लाह मन्सुर र उमा रेग्मीले यो निर्णयमा विमति राखेका छन्।
कार्यसम्पादन समितिले तय गरेको कार्यतालिका अनुसार महाधिवेशन वैशाख २८–३१ सम्म सञ्चालन हुनेछ।
यसअघि पुस अन्तिममा महाधिवेशन गर्ने योजना पारित गरिएको थियो। महाधिवेशनको तयारीअनुसार गाउँ/नगर वडा अधिवेशन चैत २१, गाउँ/नगर अधिवेशन चैत २५, प्रदेशसभा क्षेत्रीय अधिवेशन चैत २८, एकमात्र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन वैशाख २, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन वैशाख ५ मा हुने छ।
प्रदेश अधिवेशन वैशाख १०, ११ र १२ मा आयोजना गरिने छ। अन्तिम केन्द्रीय महाधिवेशन वैशाख २८–३१ सम्म सञ्चालन हुने जानकारी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले दिएका छन्।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ७ : ५७ बजे