Logo

मौसम

बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित, राजमार्गमा सवारी चलाउन कठिन



रौतहट । रौतहटको चन्द्रनिगाहपुर खण्डस्थित पूर्व–पश्चिम राजमार्ग लगायत जिल्लाका अधिकांश भू–भागमा आज बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ ।

हुस्सुले गर्दा भिजिबिलिटी (दृश्यता) कम भएपछि राजमार्गमा गुड्ने सवारी साधनहरू बत्ती बालेर ढिलो गतिमा गुड्न बाध्य छन् ।
बाक्लो हुस्सु र कुहिरोका कारण सडकमा भिजिबिलिटी कम भई दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरीले चालकहरूका लागि विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

हुस्सु लागेको बेला अगाडिको सडक प्रष्ट नदेखिने हुँदा सवारी साधन अत्यन्तै कम गतिमा चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले बताए ।

उनले फग लाइट र हेडलाइटको प्रयोग गर्ने , सवारी साधनको दुरी कायम राख्ने, रिफ्लेक्टिभ स्टिकरको प्रयोग गर्ने र इन्डिकेटर र साइड लाइटको अनिवार्य प्रयोग गर्न सुझाव दिए ।

जाडोयाममा विशेषगरी बिहान र साँझको समयमा सवारीको गति नियन्त्रण, बत्तीको सही प्रयोग तथा अन्य सुरक्षात्मक उपाय अनिवार्य रूपमा अपनाउन सबै सवारी चालकलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

जिल्लाको चन्द्रनिगाहपुर मात्र नभई अन्य स्थानहरूमा पनि शीतलहर र हुस्सुको प्रभाव बढेको छ। चिसोका कारण बजार, शैक्षिक संस्था र सरकारी कामकाज समेत प्रभावित भएको छ भने सर्वसाधारणहरू चोक–चोकमा आगो तापेर बसेका देखिन्छन् । मौसममा आएको यो परिवर्तनले विशेषगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई बढी समस्यामा पारेको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ३ : ३२ बजे