Logo

समाचार

बसको ठक्करबाट गुल्मीमा दुईजनाको मृत्यु, चार घाइते



गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा आज बिहान बसको ठक्करबाट भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुका अनुसार मोटरसाइकलमा सवार मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उनकी भाउजू ५६ वर्षीया मनकला अर्यालको मृत्यु भएको हो । घाइते अवस्थामा गुल्मी अस्पताल तम्घास ल्याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा मृतक मनकला अर्यालका नाति ६ वर्षीय अनुभव गिरी र पैदल यात्री मालिका गाउँपालिका–६ राम्चेकी ४१ वर्षीया जमरपोखरा माध्यमिक विद्यालयकी शिक्षिका लिलावती अर्याल घाइते भएका छन् । घाइतेमध्ये गिरीलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ भने शिक्षिका अर्यालको गुल्मी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि मदाने गाउँपालिका–अन्तर्गत पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इङ्लिस बोर्डिङ स्कुलको लु प्र ०१–००ख०३५५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १ : १० बजे