Logo

समाचार

महिला नेतृत्व, युवा सहभागिता र पार्टी अनुशासनमा एमाले अघि छ – डा. टीका ढकाल



काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट अत्याधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएपछि डा.टीका ढकालले आफूलाई ठूलो जिम्मेवारी आएको अनुभूति भएको बताएकी छन् । महाधिवेशन प्रतिनिधि बन्नु नै आफ्नो लागि गर्वको विषय भएको र त्यसपछि केन्द्रीय सदस्यमा निर्वाचित हुँदा अपेक्षा भन्दा धेरै विश्वास प्राप्त भएको उनको भनाइ छ ।

पार्टीको मूलधारमा नयाँ भए पनि देशभरिका प्रतिनिधिहरूले दिएको लोकप्रिय मतले आफूलाई अझ गम्भीर र जिम्मेवार बनाएको उनले उल्लेख गरिन् ।
नतिजा सार्वजनिक भएको दिन महाधिवेशन स्थलमै देखिएको बधाई र समर्थनले आफ्नो काँधमा ठूलो दायित्व थपिएको महसुस भएको डा. ढकालको भनाइ छ ।
पार्टीको विधि, विधान र अनुशासनअनुसार अघि बढ्दै प्रतिनिधिहरूले दिएको भरोसाको सम्मान गर्नुपर्ने चुनौती आफूले आत्मसात गरेको उनले बताइन् ।
‘अब मैले गर्ने हरेक कदमले पार्टी र भोलिको नेतृत्वमा उत्तर दिनुपर्ने अवस्था आएको छ,’ उनले भनिन् ।

महाधिवेशनको माहोललाई उत्साहजनक र लोकतान्त्रिक भन्दै डा. ढकालले प्रतिनिधिहरूको पार्टीप्रतिको समर्पणले आफू प्रभावित भएको बताइन् ।
पार्टीभित्र विद्रोह र कठिन परिस्थिति पार गरेर आएको पृष्ठभूमि हुँदाहुँदै पनि प्रतिनिधिहरूमा देखिएको ऊर्जा र प्रतिबद्धताले नेकपा एमाले अझै गतिशील र जीवित पार्टी भएको पुष्टि गरेको उनको धारणा रहेको छ ।

११ औँ महाधिवेशनले युवाहरू र नयाँ पुस्तालाई उल्लेखनीय रूपमा समेट्नु सकारात्मक कदम भएको उनले उल्लेख गरिन् ।

नयाँ जिम्मेवारीसँगै आफूले सुशासन, भ्रष्टाचार नियन्त्रण र लैङ्गिक समावेशिताको एजेन्डालाई प्राथमिकतामा राखेर काम गर्ने डा. ढकालले स्पष्ट पारिन् ।
समाजमा पार्टीप्रति देखिएको अविश्वास हटाउन पारदर्शिता, विधिको शासन र निष्पक्ष कार्यशैली अनिवार्य भएको उनको भनाइ छ । विशेष गरी नेतृत्व तहमा महिलाको आवाज अझ बलियो बनाउन संरचनागत र व्यवहारिक दुवै तहमा काम गर्नुपर्ने उनले बताइन् ।

महिला राजनीतिज्ञका रूपमा भोग्नुपरेका चुनौतीबारे बोल्दै डा. ढकालले पारिवारिक दायित्व, सामाजिक दृष्टिकोण र जिम्मेवारीको भार महिलाका लागि ठूलो चुनौती भएको बताइन् ।

यद्यपि, महिलाहरू सक्षम नेतृत्व र कुशल प्रशासक भएको प्रमाण इतिहासले दिइसकेको भन्दै लोकतान्त्रिक व्यवस्थाले महिलालाई अघि बढ्ने अवसर दिएको उनको धारणा छ । आउने पुस्तामा लैङ्गिक विभेद अन्त्य गर्न निरन्तर संघर्ष आवश्यक रहेको उनले जोड दिइन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनबारे उठेका बहसमा डा.ढकालले उनी राष्ट्रकै गौरव भएको उल्लेख गरिन् ।

उच्च पद सम्हालेको व्यक्तिको गरिमा र वैधानिक प्रक्रियालाई ध्यानमा राख्नुपर्ने उनको भनाइ छ । पार्टी निर्णय र विधिभन्दा बाहिर गएर हुने कुनैपनि गतिविधिले पार्टीलाई कमजोर बनाउने खतरा रहने भएकाले स्पष्टता आवश्यक भएको बताइन् ।

डा. टीका ढकालले युवा र महिलालाई भावनामा बग्नुभन्दा यथार्थ बुझेर राजनीति गर्न आह्वान गरिन् । देश निर्माणको मूल माध्यम राजनीति नै भएको उल्लेख गर्दै स्थापित, अनुशासित र जनाधार भएको पार्टीमार्फत सुधार सम्भव हुने उनको धारणा छ ।

‘भ्रम होइन, विचार रोजौँ; विदेश होइन, यहीँ बसेर देश बनाऔँ,’ भन्दै उनले सबै नेपालीलाई मिलेर समुन्नत, सुशासित र सुसंस्कृत समाज निर्माणमा जुट्न आग्रह गरिन् ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ११ : ४१ बजे