काठमाडौं। वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउने प्रक्रिया अगाडि नबढाएको भन्दै भाषा परीक्षा पास गरेका युवाले ललितपुरको ग्वार्कोस्थित ईपीएस शाखा कार्यालयमा सोमबार प्रदर्शन गरेका छन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दुई वर्षअघि भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा परेका युवाले लामो समय बितिसक्दा पनि कोरिया जान नपाएको गुनासो गर्दै आन्दोलन गरेका हुन् ।
आन्दोलनरत पक्षका अनुसार दुई महिनाअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सहमति भए पनि त्यसयता सरकारबाट आवश्यक प्रक्रिया अगाडि नबढाइएकाले बाध्य भएर प्रदर्शन गर्नुपरेको हो ।
भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्न लाग्दा पनि कोरिया जान नपाएको नुवाकोटका राजन ढुंगानाले बताए । उनका अनुसार कोरियाको वास्तविक मागभन्दा बढी संख्यामा आवेदन खुलाइएकाले योग्य र मिहिनेती युवाले रोजगारीको अवसर गुमाउनुपरेको छ ।
आन्दोलनकारीहरूले राज्यले वैदेशिक रोजगारीका लागि कोरिया पठाउने प्रक्रिया समयमै अगाडि नबढाउँदा आफूहरू अन्य रोजगारी खोज्न नसक्ने अवस्थासमेत सिर्जना भएको बताएका छन् ।
सन् २०२५ का लागि लिइएको भाषा परीक्षामा एक लाख ६३ हजार जना सहभागी भएकामा १७ हजार ३० जना उत्तीर्ण भएका थिए । तर तीमध्ये अधिकांशले हालसम्म रोजगारदातासँग करार सम्झौता नपाएकाले कोरिया जान नसकेको ईपीएस स्रोतले जनाएको छ ।










प्रतिक्रिया