जनकपुर । ‘युगले हार्न सक्छ युवाहरु नहार, सबल बनाउ थेग्न कांध मातृ भूमीको भार’ यो गीत गुनगुनाउँदै जनकपुरधामको मुख्य प्रवेशद्वारा रामानन्द चोकमा उल्टो साईकल चलाएर घुमिरहेका जीवनाथ पोखरेलले सबैको ध्यान तानेका छन् ।
ह्यान्डल विनाको दुई पाँङ्ग्रे साईकल त्यसमा पनि उल्टो हाकिँरहेको देखेर कसैले मोबाईल निकालेर फोटो खिच्छन् भने कसैले रोकेर पोखरेलसंग सेल्फि लिने गर्छन । महोत्तरीको बर्दिवास वडा नं. १ घर भएका जे.बी पोखरेल नामले चर्चित उल्टो साईकल यात्री पेसाले स्वास्थ्यकर्मी हुन । पोखरेल महोत्तरीको वर्दिवास नगरपालिका अन्तर्गत जनस्वास्थ्य निर्देशक हुन । विदाका दिनहरुमा उल्टो साईकल चलाएर वातावरण संरक्षण गर्ने सन्देश फैलाउने काम गर्छन उनी ।
२०६३ सालमा उल्टो साईकल चलाएर मेची महाकाली यात्रा गरेर उनले निकै चर्चा बटुलेका थिए । सो बेला उनले प्रयोग गर्ने साईकलमा ह्यान्डल थियो भने अहिले उनले बिना ह्यान्डल भएको साईकल प्रयोग गरी उल्टो चलाउने गर्छन ।
करीब २० वर्ष देखि उनले उल्टो साईकल चलाईरहेको उनले बताए । पोखरेलले अहिले प्रकृति संरक्षण र युवाहरुलाई स्वदेशमै बसेर केही सृजनात्मक र उत्पादनमूलक काम गर्न उत्प्रेरणा दिने उद्येश्यका साथ ठाउँ ठाउँमा उल्टो साईकल चलाउने गरेको बताए । उनले केही दिन अघि मात्र काठमान्डौमा उल्टो साईकल चलाएका थिए भने अब पोखरेल पोखरा जान लागेको बताए ।
पोखरेलले एक पटकमा लगातार १०० किलोमिटर उल्टो साईकल चलाउन सक्ने दाबी गरेका छन् । उनले आगामी दिनमा उल्टो साईकल चलाएर गीनिज बुकमा नाम लेखाउन प्रयास गर्ने बताए ।
उनले साईकल प्रयोग गर्न सबैलाई आग्रह गर्दै प्रकृतिको संरक्षणमा सबैजना लाग्नु पर्ने बताए । पोखरेलले विदेश जाने युवाहरुलाई नेपालमै प्रशस्त सम्भावनाहरु रहेकाले केही फरक काम गरेर स्वदेशमै रोजगार बन्न सल्लाह दिए ।










प्रतिक्रिया