रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका ४, ५ प्रीतिका किसानहरू व्यावसायिक सुन्तला खेतीमा लागेका छन् ।
अन्य खेती गर्ने मानिसहरू गाउँमा कम हुँदै जाँदा एक पटक लगाएपछि वर्षाै आम्दानी दिने सुन्तला खेतीतर्फ किसानहरू लागेका हुने । विज्ञहरूका अनुसार एक पटक लगाएको सुन्तलाको बिरुवाले ५० वर्षसम्म राम्रो फल दिन्छ ।
किसानलाई सुन्तला खेतीमा आकर्षित गर्न उमाकुण्ड गाउँपालिकाले सो गाउँपालिकाका ४ र ५ नं वडालाई पकेट क्षेत्र घोषणा गरी विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरेको छ ।
गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारका अनुसार वाग्मती प्रदेश सरकार र उमाकुण्ड गाउँपालिकाको आयोजनामा ती वडामा पकेट कार्यक्रम सञ्चालन गरिएको हो ।
जस अन्तर्गत किसानलाई बिरुवा, विषादी तथा प्राविधिक सहयोग हुने गरेको छ । आवश्यक परे बजारीकरणको लागि समेत गाउँपालिकाले सहयोग गर्ने उनले बताइन् ।
अहिले किसानले उत्पादन गरेको सुन्तला बगैँचामा नै पुगेर व्यापारीहरूले किन्ने गरेको उनले जानकारी दिइन् । स्थानीय हाटबजारमा पनि किसानको उत्पादन विक्री हुने गरेको छ ।
पकेट कार्यक्रम सुरु भएपछि किसानहरू बँगैचा विस्तारमा लागेका छन् । किसानले एउटा सिजनमा सुन्तला बेचेर २ देखि ५ लाख रुपैयाँसम्म वार्षिक कमाउने गरेका छन् ।
अझ बजार व्यवस्थापन हुने हो भने राम्रो आम्दानी हुने स्थानीय किसान नेत्रमाया सुनुवार बताउँछिन् । आफ्नो चार रोपनी बगैँचाबाट वार्षिक दुई लाख रुपैँया आम्दानी हुने सुनुवारले बताइन् ।
जग्गा बाझिँदै गएको अवस्थामा फलफूल खेतीमा किसानको आकर्षणले आम्दानीको नयाँ बाटो खुलेको छ ।
१३ पुस २०८२, आइतबार
92
Shares








प्रतिक्रिया