Logo

मुख्य समाचार

अर्घाखाँचीमा विद्यार्थी सवार जीप दुर्घटना, चालकको मृत्यु, १६ घाइते



अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा विद्यार्थी सवार जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
भूमिकास्थान नगरपालिका–१० धनचौरबाट नुवाकोटतर्फ जाँदै गरेको लु२च ५१७९ नम्बरको जीप भूमिकास्थान–७ छिर्लिङ खोलानजिक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा जीप चालक धनचौर निवासी ४५ वर्षीय रुद्रबहादुर बुढामगरको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परेका घाइतेहरू सबै स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी रहेको र उनीहरूको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको बताइएको छ ।
पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन नुवाकोटतर्फ जाँदै गरेका विद्यार्थी सवार जीप दुर्घटनामा परेको हो । दुर्घटनापछि भूमिकास्थान नगरपालिकाले आज (पुस ११) का लागि तय भएका प्रतियोगिताअन्तर्गतका सबै खेलकुद कार्यक्रम स्थगन गरेको जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : ०९ बजे