Logo

खेलकुद

मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु



विराटनगर। मोरङको विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–५ का २७ वर्षीय थापा बिहीबार बिहान दुर्घटनामा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर–४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटना बिहान करिब पौने १ बजे भएको प्रारम्भिक अनुमान गरिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोसी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका हुन्।

थापा कोसी प्रदेशबाट प्रतिनिधित्व गर्दै नौ वर्षभन्दा बढी समयदेखि राष्ट्रिय क्रिकेट खेलिरहेका थिए। उनी ब्याट्सम्यान थिए र केही फ्रेन्चाइज लिगमा समेत सहभागी भइसकेका थिए।

थापा आमा तनुजा र भाइ प्रदीपसँग बस्दै आएका थिए। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। थापाको शव पोस्टमार्टमका लागि कोसी अस्पतालमै राखिएको छ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ११ : २८ बजे