Logo

समाचार

बजेट स्वीकृति बिना एनजीओका नाममा चेक काटेर करिब १० लाख हिनामिना, सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित सात जना तथा एक गैरसरकारी संस्थाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नगरसभाबाट कार्यक्रम तथा बजेटको स्वीकृति नलिई एनजीओको नाममा चेक काटेर रकम हिनामिना गरिएको आरोपमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नगरसभाबाट कुनै स्वीकृति नलिइ सरिता फाउन्डेसनको नाममा पाँच लाख रुपैयाँको चेक काटिएको थियो। अनुसन्धानको क्रममा सो सहित कुल ९ लाख ९८ हजार ९२१ रुपैयाँ मिलेमतोमा हिनामिना भएको पुष्टि भएको आयोगको भनाइ छ।

मुद्दामा प्रतिवादी बनाइएका व्यक्तिहरूमा तत्कालीन सहायक लेखापाल विवेककुमार सहनी, सहायकस्तर पाँचौं रामनरेशप्रसाद यादव, सहायक कम्प्युटर अपरेटर उमेशकुमार दास तत्मा, खरिदार कौशलकिशोर चौधरी र छोटेलाल मिश्र रहेका छन्। साथै सरिता फाउन्डेसन र फाउन्डेसनकी निर्देशक सरिताकुमारी साहविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

अख्तियारले सबै प्रतिवादीबाट जनही ९ लाख ९८ हजार ९२१ रुपैयाँ बिगो असुल गर्न मागदाबी गरेको छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ४ : ३८ बजे