काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले वातावरण संरक्षणमा दिएको योगदानको उचित मूल्यांकन नपाएको बताएका छन् ।
वन, वातावरण तथा जलवायु परिवर्तन–सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा बोल्दै ओलीले एमालेको राजनीति केवल सत्ता–चुनावमा केन्द्रित नभई मानवजाति, वातावरण र समग्र इको–सिस्टमको संरक्षणतिर उन्मुख रहेको बताएका हुन् ।
उनले भने, ‘हाम्रो पहिलो निष्ठा देशवासी र मानवजातिप्रति हो । हामी केवल चुनाव वा सरकारमा मात्र सीमित छैनौँ, मानव जातिलाई आवश्यक सबै पक्षप्रति हाम्रो गम्भीर ध्यान छ । ’
उनले वातावरण, वन, वन्यजन्तु र प्रकृतिमा निर्भर जीव–जन्तुप्रति एमाले पार्टी दृढ रहेको दोहो¥याए ।
नेपालको भूभागको ठूलो हिस्सा वन क्षेत्रले ढाकिएको जनाउँदै ओलीले वन्यजन्तुको दिगो व्यवस्थापनका लागि क्षमता अनुसार मात्र संरक्षण नीति अघि सारिनुपर्ने विचार व्यक्त गरे ।
‘हाम्रा वनले धान्ने संख्यामा मात्रै बाघ पाल्नुपर्छ । हौसिने काम गर्नुहुँदैन, हौसियो भने बाघले मान्छे गन्दैन,’ उनले भने ।
वातावरणीय असन्तुलन तथा जलवायु अन्यायको प्रसङ्ग उठाउँदै ओलीले वातावरण जोगाउने मुलुकले भोगिरहेको आर्थिक बोझ र प्रदूषण फैलाउने मुलुकहरूले पाएको फाइदा अन्यायपूर्ण रहेको टिप्पणी गरे ।
‘हामी वातावरण जोगाइरहेका छौँ, तर गरिबी बोकेका छौँ । हामीले तेल किनेरे चलाउनुपर्छ, वातावरण बिगार्नेले अक्सिजन सित्तैमा पाउने यो मुलुकका लागि न्याय होइन,’ उनले भने ।
ओलीले सुरक्षित विश्व, सुरक्षित पृथ्वी र सुरक्षित मानव भविष्यका लागि इको–सिस्टमलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।










प्रतिक्रिया