काठमाडौं । ओपनर माज सदाकत र कप्तान अनिलकुमार साहको अर्धशतकको मद्दतमा साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पहिलो जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।
चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । माज सदाकतले ३० बलमा ६३ रन (६ चौका, ४ छक्का) र अनिलकुमार साहले ३६ बलमा ६१ रन (४ चौका, ३ छक्का) बनाए । दुवैले दोस्रो विकेटका लागि ५.१ ओभरमा ७९ रनको साझेदारी गरे । आसिफ शेखले १८, आदित्य महताले १८ र जान निकोल लोफ्टी इटोनले ११ रन बनाए भने सञ्जय कृष्णमुर्थी ५ रनमा अविजित रहे ।
चितवनका सोहेल तान्विर र कमलसिंह ऐरीले एक–एक विकेट लिए । अन्य बलर सफल हुन सकेनन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो । ओपनर मलानले ५४ बलमा ८० रन (४ चौका, ५ छक्का) र अर्जुन साउदले ३९ बलमा ५२ रन (४ चौका, ३ छक्का) बनाए । दुवैले पहिलो विकेटका लागि ११२ रनको साझेदारी गरे । कप्तान कुशल मल्लले १२ बलमा २८ रन थपे । सैफ जैब ७ र रवि बोपारा ३ रनमा आउट भए ।
जनकपुरका माज सदाकत, अनिलकुमार साह, रुपेश सिंह र जान निकोल लोफ्टी इटोनले एक–एक विकेट लिए ।
यस जितसँगै पाँच खेलबाट २ अंक जोडेको जनकपुरको प्लेअफ पुग्ने गणितीय सम्भावना कायमै रहेको छ । चितवनलाई भने यो तेस्रो हार हो ।










प्रतिक्रिया