Logo

समाचार

काठमाडौं महानगरले सामाजिक सुरक्षा भत्ता प्राप्तकर्तालाई निःशुल्क उपचार उपलब्ध गराउने


१२ मंसिर २०८२, शुक्रबार  

161
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा)ले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिलाई निःशुल्क स्वास्थ्योपचार सेवा प्रदान गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ। ज्येष्ठ नागरिक, एकल महिला, हिंसामा परेका व्यक्ति, अपांगता भएका व्यक्ति तथा लैङ्गिक हिंसामा परेकाहरूलाई लक्ष्यित सेवाका लागि कामपाले छत्रपाटी निःशुल्क चिकित्सालयसँग चालु आर्थिक वर्षका लागि सम्झौता गरेको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन्।

उनका अनुसार पारिवारिक आधार कमजोर भएकाहरूलाई पनि महानगरले उपचारमा पहुँच सुनिश्चित गर्ने व्यवस्था मिलाइएको छ। कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले सेवा प्राप्ति सहज बनाउन तथा दुरुपयोग रोक्न अस्पताललाई आवश्यक प्रणाली लागू गर्न आग्रह गरे।

अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले कामपाको सहयोगपछि समुदायमा उपचारप्रतिको चासो बढेको बताए। सम्झौताअनुसार कामपाका जनप्रतिनिधि तथा कर्मचारीका लागि पनि उपचार सेवा उपलब्ध गराइनेछ। महिला कर्मचारी तथा जनप्रतिनिधिलाई म्यामोग्राम सेवा र लैङ्गिक हिंसा पीडित, बेवारिसे तथा अपांगता भएका व्यक्तिसहित सिटी–स्क्यान आवश्यक कर्मचारीको उपचारका लागि सामाजिक विकास विभागको सिफारिस अनिवार्य रहनेछ। सबै खर्च महानगरपालिकाले व्यहोर्नेछ।

कामपाले चालु आवमा यसका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। अस्पतालले ३० प्रतिशत थप योगदानसहित एक करोड ८० लाख रुपैयाँ बराबरको सेवा उपलब्ध गराउनेछ। सेवा लिने व्यक्तिले कर्मचारी तथा जनप्रतिनिधिले परिचयपत्र, ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता कार्ड, राष्ट्रिय परिचयपत्र वा नागरिकता अनिवार्य रूपमा पेश गर्नुपर्ने महानगरले जनाएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : १९ बजे