Logo

अर्थ

नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यातको सहमती



काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त समितिको सातौँ बैठक मंसिर ११ गते बंगलादेशको ढाकामा सम्पन्न भएको छ । बैठकले नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यात गर्ने सहमती गरेको छ । हाल नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भइरहेको छ ।

विहीबार सम्पन्न बैठकले सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले विशेषज्ञ समिति गठन गरी मूल्याङ्कन तीव्रता गर्ने तथा संयुक्त उपक्रम शीघ्र टुंग्याउने निर्णय भएको छ ।

बैठकको सहअध्यक्षता नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव श्री चरणजीवी चटौत तथा बंगलादेश सरकारको विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयकी सचिव फरहानाज ममतले संयुक्त रूपमा गरेका थिए ।

यसअघि मंसिर १० गते बसेको बैठकमा उठाइएका प्रस्तावहरूमा यो बैठकले विस्तृत छलफल गरेको हो । बैठकको सहअध्यक्षता नेपालका सहसचिव सन्दीप कुमार देव तथा बंगलादेशका अतिरिक्त सचिव के.एम. असल रेङाले गरेका थिए ।

बैठकमा दुई देशबीच दीर्घकालीन ऊर्जा सहकार्य, विद्युत व्यापार, जलविद्युत आयोजनामा लगानी, अन्तरदेशीय प्रसारण लाइनका संरचना विकास लगायतका विषयमा व्यापक छलफल हुँदै देहायका महत्त्वपूर्ण सहमति भएका छन् ।

के के भयो प्रगति ?

१. बंगलादेशले नेपालबाट हाल आयात गर्दै आएको ४० मेगावाट विद्युतमा थप २० मेगावाट आयात गर्ने प्रक्रिया दुवै देशले शीघ्र पूरा गर्ने ।

२. सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले विशेषज्ञ समिति गठन गरी मूल्याङ्कन तीव्रता गर्ने तथा संयुक्त उपक्रम शीघ्र टुंग्याउने ।

३. नेपाल–भारत–बंगलादेशबीच प्रसारण लाइनमार्फत विद्युत विनिमयको सम्भाव्यता अध्ययन गर्ने — विशेष गरी नेपालबाट भारत हुँदै बंगलादेशका बरापुकारिया, पञ्चगढ÷ठाकुरगञ्ज, भेरामारा र कोसमलला सबस्टेशनसम्म ऊर्जा प्रवाह गर्ने सम्भावना मूल्याङ्कन गर्ने ।

४. दुवै देशले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता सम्बन्धी ःयग् का लागि आ–आफ्नो आन्तरिक प्रक्रिया पूरा गरेर हस्ताक्षर गर्ने। यस अन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा संरक्षण, चार्जिङ, रूफटप सोलार लगायतका क्षेत्रमा प्राविधिक सहयोग प्रदान गर्नेछ ।

५. नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम शुरू गर्ने—पहिलो चरणका तालिमहरू काठमाडौंमा र दोस्रो चरण बंगलादेशमा सञ्चालन गरिने ।

६. नेपाल–भारत–बंगलादेश त्रिपक्षीय ऊर्जा सहकार्यसम्बन्धी ःयग् मा भारतको सहमति जुटाउन दुवै देशले संयुक्त पहल गर्ने ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ३ : ३० बजे