Logo

मुख्य समाचार

जसपा नेपालको बाहिर रहेका नेता–कार्यकर्तालाई संगठनमा फर्किन आह्वान



काठमाडौं — उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी बाहिर रहेका नेता तथा कार्यकर्तालाई संगठनमा फर्किन खुला आह्वान गरेको छ। हालै सम्पन्न पार्टी बैठकले विगतका निराशा, असहमति तथा परिस्थितिजन्य कारणले टाढिएका कार्यकर्तालाई पुनः सक्रिय भूमिकासहित पार्टीमा पुनर्संलग्न हुन आग्रह गर्ने निर्णय गरेको हो।

जसपाका सचिव शैलेन्द्रप्रसाद साहका अनुसार संगठनलाई कमजोर पार्ने विभाजन, बहिर्गमन र आन्तरिक चलखेलका घटनापछि पार्टीले पुनः एकता र पुनर्जीवनलाई प्राथमिकतामा राखेको छ। उनले राष्ट्रिय राजनीति, पहिचान तथा अधिकारका मुद्दा, संघीयता, समावेशीकरण र संविधान संशोधनजस्ता एजेन्डा पुनः केन्द्रीकृत हुँदै गएकाले संगठन सुदृढीकरण आवश्यक भएको बताए।

साहका अनुसार महन्थ ठाकुर, राजेन्द्र महतो, बाबुराम भट्टराई, अशोक राई, जेपी गुप्ता, रेणु यादव, दान विश्वकर्मा, डम्बर खतिवडा, महेन्द्र यादव, युवराज कार्की लगायतका पूर्व नेताहरू एकै राजनीतिक धारमा फर्किएमा जसपा पुनः बलियो र वैकल्पिक राजनीतिक शक्तिका रूपमा उभरिन सक्ने छ।

उनका अनुसार अनुभवी नेतृत्व र परिवर्तनप्रतिको प्रतिबद्धता जोडिन सके पहिचान तथा अधिकारका विषयलाई फेरि राष्ट्रिय बहसको केन्द्रमा ल्याउन सकिनेछ। पार्टीले संघीयता र समावेशीकरणको प्रभावकारी कार्यान्वयन, भ्रष्टाचार र राजनीतिक अस्थिरताबाट प्रभावित वातावरणमा वैकल्पिक मार्गचित्र प्रस्तुत गर्ने तथा मधेशदेखि हिमालसम्मका नागरिकलाई एउटै राजनीतिक संरचनामा जोड्ने क्षमता आफूहरूमा रहेको जनाएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  १२ : २४ बजे