काठमाडौं । ठमेल क्षेत्रमा विदेशी पर्यटकलाई हैरानी र लुटपाट गरेको आरोपमा नेपाल प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले बुधबार राति विदेशी पर्यटकलाई अनावश्यक दुःख दिने, लुटपाट गर्ने तथा जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।
पक्राउ पर्नेहरूमा काभ्रेका १९ वर्षीय बादल तामाङ, बाजुराका २२ वर्षीय गणेश नाथ, तनहुँका २४ वर्षीय विशाल थापामगर, सिन्धुलीका २० वर्षीय गणेश तामाङ, सर्लाहीका १९ वर्षीय सागर मगर, सुनसरीका २२ वर्षीय रमेश क्षेत्री, दोलखाका १९ वर्षीय विशाल नेपाली, रामेछापका २१ वर्षीय मिलन नेपाली, बाँकेका २३ वर्षीय अभिषेक थापा, काभ्रेका २२ वर्षीय सञ्जय लामा, दाङकी २० वर्षीया प्रतिमा डाँगी र २१ वर्षीया प्रमिला पुनमगर रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार स्वदेशी तथा विदेशी पर्यटकलाई सताउने र अपराध गतिविधिमा संलग्न रहेको प्रमाण भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकामाथि अभद्र व्यवहारसम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










प्रतिक्रिया